गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र द्रौपदीको ‘कर्णाली काटौँला’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक ऋषिराज आचार्यको शब्द र रवि ओडको सङ्गीत रहेको गीतमा अभिनेतृ आश्विनी शाही, निर्देशक आचार्य, गायक रवि र सुजाता तिमिल्सिना प्रेमिल भावमा प्रस्तुत हुनुभएको छ ।
डोल्पाको से फोक्सुन्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रको गीतको नृत्य निर्देशन विष्णु ठडराईले गर्नुभएको छ । निर्देशक आचार्यले चलचित्र मौलिक विषयवस्तुमा निर्माण भएको बताउँदै कथाको माग अनुसारै नयाँ कलाकारलाई अवसर दिएको बताउनुभयो । चलचित्रमा गीतमा कर्णालीको सौन्दर्यलाई देखाउने प्रयास गरेको उहाँले बताउनुभयो ।
यसै चलचित्रबाट डेब्यु हुनुभएकी अभिनेतृ आश्विनीले द्रौपदीबाट आफू निकै आशावादी रहेको बताउनुभयो । चलचित्रको डोल्पामा करिब डेढ महिनासम्म छायाङ्कन गरिएको थियो । निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले चलचित्रले मौलिक कथा बोकेको बताउदै यस प्रकारका विषय प्रचुरताका साथ पर्दामा उतारिनुपर्नेमा जोड दिनुभयो । चलचित्रमा कविराज, जेल्सन अधिकारी, सुजाता तिमिल्सिना, सीता बौडेललगायतको अभिनय रहेको छ । निर्देशक ऋषिराजकै लेखन, गीत र निर्माण रहेको चलचित्रको सम्पादन अनिल महर्जनले गर्नुभएको छ ।