• २६ माघ २०८१, शनिबार

तीन चलचित्रको भिडन्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २६ गते । देशभरिका हलमा शुक्रबारबाट तीन चलचित्र ‘जुना : एक व्यथा’, ‘ममी’ र ‘सारङ्ग’ प्रदर्शनमा आएका छन् । जीवन सेन्चुरी निर्देशित चलचित्र ‘जुना : एक व्यथा’ बालविवाह तथा महिला हिंसा निरुत्साहितमा आधारित कथा हो । बालविवाहकेन्दित रहेर बनाइएको चलचित्रमा विवाहले एउटी नारीको जीवनमा आएको उतारचढावको कथा भन्न खोजेको छ । चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेलगायत कलाकारको अभिनय छ । महिला हिंसा, बालविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेन्चुरीले बताउनुभयो । 

यो चलचित्र देशभरका ९४ हलमा प्रदर्शनरत छन् भने काठमाडौँका ५२ हलमा प्रदर्शन भइरहेको छ । चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी रहेको छ भने राजबहादुर सानेको कथा, बिबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर रहेको छ । 

ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘ममी’ लाई समर निरौला र पूर्णिमा जोशीले लेख्नुभएको छ । समरको यो पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रलाई १७ वर्षभन्दा कम उमेर समूहका दर्शकले हेर्न पाउने छैनन् । थ्रिलर र हरर जनरामा बनेको चलचित्रले घरमा पालेको कुकुर मारेपछि कालो बिरालोलाई घरमा ल्याइँदा घरमा हुने अनेकन रहस्यपूर्ण घटनाको कथावस्तुमा केन्द्रित छ । प्रियङ्का कार्की, दिया मास्के, सुलक्षण भारती, आयुषी ढकाललगायतको अभिनय रहेको चलचित्रको छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गर्नुभएको छ । चलचित्रमा सुरेन्द्र महर्जनको सम्पादन, एनबी महर्जनको द्वन्द्व निर्देशन, दिपेश चौधरीको रङ संयोजन र एसडी योगीको सङ्गीत रहेको छ । चलचित्रको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सुमन कोइराला रहनुभएको छ । चलचित्र देशभरका १५० हलमा प्रदर्शनरत छन् ।

प्रशान्त तामाङ निर्देशित चलचित्र सारङ्ग अभिभावक अलग हुँदा त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको कथामा केन्द्रित छ । चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के. राई, अनिशा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागरजङ्ग केसी, प्रभात श्रेष्ठलगायत बालकलाकार आदित्य कार्की र सम्राट थापाको अभिनय छ । दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुनुहुन्छ भने कार्यकारी निर्मातमा ऋचा शर्मा रहनुभएको छ । चलचित्रमा शङ्कर थापा ‘स्माइल’ को गीत र नकुल कार्कीको सङ्गीत रहेको छ । यो चलचित्र देशभरका ४० हलमा प्रदर्शनरत छन् भने काठमाडौँका २३ हलमा प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रसँगै भारतीय चलचित्र ‘बडास रविकुमार’ पनि प्रदर्शनमा आएको छ । किथ गोम्स निर्देशित चलचित्रमा सन्नी लियोनी, कीर्ति कुलहरि र हिमेश रेशमियाको अभिनय रहेको छ ।