• २६ माघ २०८१, शनिबार

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ २६ गते । बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल कास्कीको पोखरा १७ छोरेटापन बस्ने वर्ष ३१ की इन्दिरा विक, सोही ठाउँ बस्ने वर्ष ३६ का राजन विक र खोटाङको हलेसी नगरपालिका वडा नं.१ की वर्ष २७ की लक्ष्मी राईलाई प्रहरीले पक्राउ गरेको हो । 

तीन जनालाई जिल्ला अदालत कास्कीबाट शुक्रवार ठगीसम्बन्धी मुद्दामा दिन सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो । उनीहरूले पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक पटक गरी तेह्र लाख पचास हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङले प्रहरीमा जाहेरी दिनुभएको थियो । 

गुरुङको जाहेरीपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको कोठाबाट सेतो रङका पारदर्शी ढुङ्गा र विभिन्न बैकका एक लाखका चार चेक फेला पारेको छ ।