गोरखापत्र अनलाइन
काठमाडौं, माघ २५ गते । गोरखापत्र संस्थानले ‘गर्दैै सिक्दै’ शृङ्खला अन्तर्गत शुक्रबार एआई (आर्टिफिसियल इन्टेलिजेन्स) एप्लिकेशन र यसको इम्प्याक्ट (प्रभाव) बारेमा एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा एआई प्रशिक्षक सन्देश भट्टराईले प्रशिक्षण दिनुभयो । उहाँले एआई एप्लिकेशनको प्रयोग नेपालमा भर्खरै भएकाले यसबारेमा धेरैलाई सुसूचित गर्न आवश्यक रहेको बताउनुभयो । मानिसले निर्माण गरेको एप्लिकेशन एआई भएकाले यसले इन्टरनेटमार्फत बनावटी डाटाबारेमा मात्र जानकारी दिने बताउनुभयो ।
एआईको प्रयोग विश्वभरी बढ्दो मात्रामा भइरहेको भए पनि नेपालमा शुभारम्भ मात्र भएको उहाँको भनाइ छ । सन् १९५० बाट नै एआईको प्रयोग हुँदै आए पनि नेपालमा यसको प्रयोग ढिलो भएको उहाँले चर्चा गर्नुभयो ।
एआईले जुनसुकै शीर्षकमा सहजै जानकारी दिने भए पनि यसले दिने जानकारी बारेमा शतप्रतिशत विश्वास गर्न सक्ने अवस्था नरहेको प्रशिक्षक भट्टराईले बताउनुभयो । एआईले जानकारीहरु सहजै दिने भए पनि मान्छेको सिर्जनालाई भने यसले क्षयीकरण गर्नेगरेको उहाँको भनाइ छ । एआईले हाम्रो कामलाई सहज बनाउने भए पनि यसमै निर्भर हुन नहुने उहाँले सुझाव दिनुभयो ।
सो अवसरमा प्रशिक्षक भट्टराईले च्याट जिपिटी, जेमिनी एआई, डिपसिक, परप्लेक्सिटी, क्लाउड, क्यानभा, ज्यास्परको प्रयोग बारेमा जानकारी गराउनुभएको थियो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एआईको प्रयोग र यसको महत्वबारेमा आधारभूत जानकारी दिन संस्थानले कार्यक्रम आयोजना गरेको बताउनुभयो । यसअघि ‘गर्दै सिक्दै’ दुई शृङ्खला आयोजना गरिएको र तेस्रो शृङ्खलाको रुपमा एआईबारेमा गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रविधिबाट कोही पनि टाढा रहन नसक्ने तर त्यसको सही प्रयोगमा आफूलाई समयअनुसार अपडेट बनाउन आवश्यक रहेको भन्दै उहाँले संस्थानका कर्मचारीलाई एआईबारेमा जानकारी दिन एक दिन कार्यक्रम गरिएको बताउनुभयो । आवश्यक परेमा विभागीय रुपमा यस्तो प्रशिक्षण चलाउन सकिने उहाँको भनाइ छ ।
संस्थानको कार्य सम्पादनलाई एआईको प्रयोगसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा आधारभूत जानकारी कर्मचारीलाई हुन आवश्यक भएको भन्दै महाप्रबन्धक ऐरीले सिकाई कहिल्यै नसकिने विषय भएको बताउनुभयो । आजको कार्यक्रमले एआईबारेमा जानकारी दिएको भन्दै उहाँले प्रशिक्षक तथा संस्थानका कर्मचारी, पत्रकारलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, संस्थानका प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, सञ्चालक समितिका सदस्य राजुकुमार महतसहित विभागीय प्रमुख र पत्रकारको सहभागिता थियो ।
ब्रोडवे इन्फोसिस प्रा.लि. प्रशिक्षणमा सहजीकरण गरेको थियो । संस्थाका व्यापार विकास निर्देशक उत्तम अधिकारीको पनि सहभागिता थियो । सो अवसरमा महाप्रबन्धक ऐरीले उहाँलाई मायाको चिनो प्रदान गर्नुभयो ।