म्याग्दी समाचारदाता
म्याग्दी, माघ २५ गते । हिमाली जिल्ला म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा काम गरेका ३२ जना मजदुरले दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर निर्माण मजदुर युनियन (क्युपेक) नेपाल म्याग्दीका कार्यवाहक अध्यक्ष जितबहादुर किसानको नेतृत्वमा गएको मजदुरको टोलीले २०७९ चैत मसान्तसम्म काम गरेको २१ लाख ६४ हजार २६५ रुपियाँ नपाएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । बेनी–दरबाङ सडकखण्डको मालिका र रघुगङ्गा गाउँपालिका क्षेत्रमा काम गरेका ३२ मजदुरले उक्त रकम प्राप्त गर्न बाँकी रहेको भन्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
चौरजहारी नगरपालिका–८, रुकुमका ३५ वर्षीय तुलाराम सार्कीको नेतृत्वमा काम गरेका ३२ जना मजदुरले उक्त रकम नपाएको ज्ञापनपत्रमा उल्लेख छ । २०७९ मङ्सिर १५ गते सम्झौता गरेर चैत मसान्तसम्म काम गरेको १५ लाख चार हजार पाँच सय रुपियाँ रकम मजदुरले पाउन बाँकी रहेको बताइएको छ ।
त्यस्तै २०७८ वैशाख २३ को सम्झौता अनुसार काम गरेको पाँच लाख १७ हजार ९३१ रुपियाँ र अर्को एउटा सम्झौताबमोजिमको एक लाख ४१ हजार ८३४ रुपियाँ गरी कुल २१ लाख ६४ हजार २६५ रुपियाँ पाउन बाँकी रहेको तुलाराम सार्कीको भनाइ छ ।
बिरुवा क्याराभान जेभीका प्रोपाइटर चन्द्र थकालीबाट लिएर मालिका गाउँपालिका–६, दुखुका श्रीप्रसाद रोकाले आफूहरूलाई पैसा दिनुपर्ने भए पनि पाउन नसकिएको ज्ञापनमा उल्लेख छ । मालिका गाउँपालिकाका निवर्तमान प्रमुखसमेत रहनुभएका रोकाले क्याराभानबाट लिएर दिन्छु भनेको भए पनि क्याराभानबाटै नपाएकाले नदिएको भन्ने गर्नुभएको मजदुरको भनाइ छ ।
क्युपेक नेपालका केन्द्रीय महासचिव राजेन्द्र विष्ट, सचिव बलादेवी राई, म्याग्दी जिल्ला सचिव पूजा छन्त्याललगायतको मजदुरको टोलीले प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।