रेखीराम राना
तानसेन, माघ २३ गते । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिका –२, का ३१ वर्षीय सुनिल गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुधबार दिउँसो २ बजेतिर पाल्पाको माथागढी–७, रहबासबाट रुपन्देहीको खैरेनीतर्फ चुनढुङ्गा लिएर गएको लु २ ख ५९६५ नम्बरको टिप्पर माथागढी–५, को सुर्काबासस्थित भित्री सडकमा दुर्घटनामा परेको थियो । सो घटनामा परी टिप्पर चालक गुरुङ्को घटनास्थलमै मृत्यु भएको हो ।
उक्त टिप्पर सडकदेखि दुईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुर्घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।