बोमलाल गिरी
नवलपुर, माघ २३ गते । गैँडाले आक्रमण गरी नवलपुरमा एक महिलालाई घाइते बनाएको छ । देवचुली नगरपालिका –१ मा रहेको दिव्य मध्यवर्ती सामुदायिक वनमा घाँस काटन जानु भएकी ३३ वर्षीया कुमारी आलेलाई गैँडाले आक्रमण गरी घाइते बनाएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिनुभयो ।
छिमेकीसहित घाँस काटन जानु भएकी आलेको गैँडाले आक्रमण गर्दा दुवै खुट्टा र दाहिने हातमा चोट लागेको पाण्डेले बताउनुभयो । उहाँको अहिले भरतपुर अस्पताल उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।
निकुञ्जबाट निस्किने गैँडाले स्थानीयलाई आक्रमण गर्ने र बालीनाली खाएर नोक्सान गर्ने घटना बढेको भन्दै स्थानीयले गैँडा सार्न निकुञ्जलाई आग्रह गरेको भए पनि निकुञ्जले स्थानान्तरणको क्रममा दुःख दिने गैँडा छोडेर अन्य गैँडा स्थानान्तरण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
गत चैत यता दुई पटक गरेर निकुञ्जले नवलपुर क्षेत्रबाट १० वटा स्थानान्तरण गरेर चितवन लगेको छ । स्थानान्तरण सकेको भोलिपल्ट नै स्थानीय गैँडाको आक्रमणमा परेका हुन् ।