माधव बराल
माछापुच्छ्रे (कास्की), माघ २३ गते । विभागीय टोली एपिएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले एपिएफ क्लबलाई २–० गोलले हरायो । मच्छिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा कडा टक्कर दिएको एपिएफको गोल फर्काउने प्रयास सफल भएन ।
मच्छिन्द्रको जितमा आदित्य शाक्य र विदेशी खेलाडी स्टेफन कामहाले गोल गर्नुभयो । आदित्यले ७४औँ र स्टेफनले ८१औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाउनुभएको हो ।
आदित्यले डिबक्समा पाएको बललाई एफिएफका रक्षकलाई छलाएर गोल गर्नुभएको थियो । स्टेफनले देवेन्द्र तामाङको फ्रिकिकमा प्राप्त बललाई जाली चुमाउनुभयो । उहाँ नै म्यान अफ दि म्याच घोषित हुनुभयो ।
एपिएफले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेप्यो । क्वार्टरफाइनलमा मच्छिन्द्रले अर्को ‘ए’ डिभिजन टोली थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।