• २३ माघ २०८१, बुधबार

आँबुखैरेनीमा विशेषज्ञ सेवा दिँदै चितवन मेडिकल कलेज

blog

आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबिच स्वास्थ्य सम्झौता गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ २३ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको छ । आँबुखैरेनी गाउँपालिकासँग भएको स्वास्थ्य सेवासम्बन्धी सम्झौता अनुसार मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको हो ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार प्रत्येक १५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आँबुखैरेनीको माग बमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ चिकित्सक उपलब्ध गराउनेछ ।

आँबुखैरेनी गाउँपालिकावासीलाई चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवामा २० प्रतिशत रकम छुट हुनेछ । पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्नलाई आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पताल सञ्चालन गरेको छ । अस्पतालबाट विशेषज्ञ सेवासमेत दिन थालिएको छ । चितवन मेडिकल कलेजसँग भएको सम्झौताले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अध्यक्ष चुमानको विश्वास छ ।

विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्नति, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल मै अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ ।
आँबुखैरेनी गाउँपालिका–१ स्थित १७ सयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो ।

चुमानले भन्नुभयो, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौं दौडिनुपर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”