• १३ साउन २०८१, आइतबार

मुख्य पदमा महिला प्रतिनिधित्व घट्यो

blog

धनगढी, जेठ १४ गते । सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधि कम भएको छ ।  स्थानीय तहका प्रमुख दुई पदमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने वैधानिक व्यवस्था भए पनि गठबन्धनका कारण महिलाले अवसर गुमाउन पुगेका छन् । सुदूरपश्चिम प्रदेशको स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षमा पुरुषको उपस्थिति बढेको छ ।

स्थानीय तहको निर्वाचनबाट यो प्रदेशको २० पालिकाका अधिकांश स्थानमा उपप्रमुख वा उपाध्यक्ष पदमा पुरुष निर्वाचित भएका छन् । पुरुष उपप्रमुख रहेको एक पालिकामा मात्रै प्रमुखमा महिलाको जित भएको छ । बाँकी सबै स्थानीय तहको प्रमुख वा अध्यक्षमा पुरुष  नै रहेका छन् । 

२०७४ को स्थानीय तहको निर्वाचनमा दलहरूले कम्तीमा पनि उपप्रमुख वा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएका थिए । ८८ वटा पालिका रहेको यो प्रदेशमा अघिल्लो निर्वाचनबाट डोटीको दीपायल सिलगढी नगरपालिकामा मात्रै उपप्रमुखमा पुरुष निर्वाचित हुनुभएको थियो । सो पालिकामा नेकपा (एमाले)बाट प्रमुखमा मञ्जु मलासी र उपप्रमुखमा शिवराज खड्का निर्वाचित हुनुभएको थियो । बाँकी ८७ पालिकामा उपप्रमुख वा उपाध्यक्षमा महिला निर्वाचित भएका थिए । 

२०७९ को स्थानीय तहको निर्वाचनमा महिलाले पाउन सक्ने २० वटा पद पनि पुरुषले कब्जा गरेका छन् । यस पटक ८८ मध्ये ६८ स्थानीय तहमा मात्रै उपप्रमुख वा उपाध्यक्षमा महिला निर्वाचित भएका छन् । गठबन्धन दलबीच स्थानीय तहमा भएको चुनावी तालमेलका कारण गठबन्धनबाट धेरैजसो पालिकामा पुरुष उम्मेदवार बनेका थिए । उपप्रमुख वा उपाध्यक्षमा विजयी हुने पुरुष सबैभन्दा बढी गठबन्धन दलका सहयात्री नेपाली कांग्रेस र नेकपा (माओवादी  केन्द्र)का रहेका छन् । 

निर्वाचन आयोगको तथ्याङ्कअनुसार कैलालीको गौरीगङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट भोजबहादुर बम, टीकापुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट खडकबहादुर शाह उपप्रमुखमा निर्वाचित हुनुभएको छ । यस्तै, मोहन्याल गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका कमलबहादुर साउँद र बर्दगोरिया गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का गणेशराज गिरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

सुदूरपश्चिम प्रदेशको स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षमा पुरुषको उपस्थिति बढेको छ । स्थानीय तहको निर्वाचनबाट यो प्रदेशको २० पालिकाका अधिकांश स्थानमा उपप्रमुख वा उपाध्यक्ष पदमा पुरुष निर्वाचित भएका छन् । पुरुष उपप्रमुख रहेको एक पालिकामा मात्रै प्रमुखमा महिलाको जित भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा (एमाले)बाट जोगराम चौधरी र बाजुराको बुढीनन्दा नगरपालिकामा स्वतन्त्रबाट रामबहादुर बोहरा उपप्रमुखमा निर्वाचित हुनुभएको छ । बेलौरी नगरपालिकामा नेकपा (एमाले)ले प्रमुखमा महिला र उपप्रमुखमा पुरुषलाई उम्मेदवार बनाएको थियो । प्रमुखमा नेकपा (माओवादी केन्द्र)सँग पराजित नेकपा (एमाले)ले उपप्रमुखमा जितेको छ ।

यसैगरी अछामको पञ्चदेवल नगरपालिकामा नेपाली कांग्रेसबाट हर्कबहादुर रावल उपप्रमुखमा निर्वाचित हुनुभएको छ । सो पालिकामा महिलालाई प्रमुख टिकट दिएको नेपाली कांग्रेसले उपप्रमुख पुरुषलाई दिएको थियो । प्रमुखमा पनि कांग्रेसकै जित भएको छ । अछामकै मेल्लेख गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका नृपबहादुर सुनार र साँफेबगर नगरपालिकाको उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का शिवबहादुर कुँवर उपप्रमुखमा विजयी हुनुभएको छ । 

बझाङको पालिकामा सबैभन्दा बढी सात जना पुरुष उपप्रमुख वा उपाध्यक्षमा विजयी भएका छन् । आयोगको तथ्याङ्कअनुसार नेकपा (माओवादी केन्द्र)बाट बझाङको खप्तड छान्ना गाउँपालिकाको उपाध्यक्षमा विष्णुकुमार थापा, छविसपाथिभेराको उपाध्यक्षमा लछिमन बोहरा, मष्टा गाउँपालिकाको उपाध्यक्षमा हर्कबहादुर धामी निर्वाचित हुनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)बाटै जयपृथ्वी नगरपालिकाको उपप्रमुखमा रतनबहादुर सिंह विजयी हुनुभएको छ । सोही जिल्लाको जयपृथ्वी नगरपालिकाको उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनबहादुर बोहरा विजयी हुनुभएको छ । यस्तै थलारा गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती निर्वाचित हुनुभएको आयोगको तथ्याङ्कमा उल्लेख छ । दार्चुलाको नौगाड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना र व्यास गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विनोदसिंह कुँवर विजयी हुनुभएको छ । 

यसैगरी बैतडीको पाटन नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का कमलसिंह बोहरा र डिलासैनी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका भगीरथ बोहरा निर्वाचित भएको आयोगको तथ्याङ्कमा उल्लेख छ । 

प्रमुखमा दुई महिला

स्थानीय तहको उपमेयर वा उपाध्यक्षमा महिलाको सङ्ख्या घटेका बेला प्रमुखमा पनि महिलाको उपस्थिति सन्तोषजनक रहेको छैन । प्रदेशभरि जम्मा दुई स्थानीय तहमा मात्रै प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसबाट कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही र अछामको पञ्चदेवल नगरपालिकाको प्रमुखमा अम्बिकाकुमारी चलाउने निर्वाचित हुनुभएको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट प्रमुखमा जित्ने महिलाको सङ्ख्या भने एकवटा बढेको छ । २०७४ को निर्वाचनबाट डोटीको दीपायल सिलगढी नगरपालिकामा मात्रै प्रमुखमा महिला निर्वाचित हुनुभएको थियो ।


Author

अविनाश चौधरी