• २३ माघ २०८१, बुधबार

सुशासनको पक्षमा जनलहर देखियो : अध्यक्ष प्रचण्ड

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वतको कुश्मामा आयोजित अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गणेश पौडेल

गणेश पौडेल
पर्वत, माघ २३ गते ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफू नेतृत्वको सरकारले सुशासनको पक्षमा गरेका काम जनताले रुचाएको टिप्पणी गर्नुभएको छ ।

मङ्गलबार साँझ पर्वतको कुश्मामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै प्रचण्डले भ्रष्टचार र कुसाशनका विरुद्ध भएका कामले जनतामा माओवादी प्रतिको आशा जागृत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शुसासनलाई जनताले अनुमोदन गरेका छन् । यही सन्देश बोकेर जनतामा जानुपर्छ ।’’

अध्यक्ष प्रचण्डले आँफूहरुले गरेको कामको प्रचार नभएको भन्दै देशव्यापी अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले जनतासँग घनिष्ट सम्बन्ध बनाउन मध्यपहाडी अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘‘जनताका गुनासा सुन्न र हामीले गरेका कामको प्रचार गर्न अभियान सञ्चालन गर्न थालेका हौं ।’’ उहाँले भन्नुभयो, ‘‘जनयुद्धको समयमा हामीलाई सहयोग गर्ने जनताका साथै जनयुद्धका क्रममा वेपत्ता भएका परिवार, शहिद, घाइते, अपाङ्गता भएकाहरुलाई भेट्ने र उनीहरुका गुनासा सुन्ने काम गर्नेछौं ।’’ 

उहाँले १८ महिना सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा आर्थिक आतङ्कबाट देशलाई राहत दिने पक्षमा भएका कामहरु सकारात्मक सन्देशको रुपमा गएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आँफूले गरेको पहलकदमीले देशको प्रतिष्ठा र इज्जत समेत बढेको टिप्पणी गर्नुभयो ।

अध्यक्षले अहिलेको सरकारले भ्रष्टहरुको संरक्षणमा लागेकाले जनतामा विश्वास टुटेको जिकिर गर्नुभयो । हामीले गरेका राम्रा कामको प्रचार र अहिलेको सरकाले गरेको जन विरोधी काम जनतालाई बुझाउन सकेमा माओवादी प्रति जनता सकारात्मक हुने बताउनुभयो ।