• ९ वैशाख २०८२, मङ्गलबार

ढोरपाटन नगरपालिकाको आफ्नै प्रशासनिक भवन

blog

पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, माघ २२ गते ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने भएको छ । भवनको सोमबार नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै बुर्तिवाङमा नमूना सहर निर्माणको अभियान छिटै पूरा गर्न आवश्यक बजेटको व्यवस्थापनमा साथ दिने प्रतिबद्धता जनाउनुभएको छ ।

ढोरपाटन नगरपालिकाको मुकाम रहेको बुर्तिबाङ बजार पनि मध्यपहाडी राजमार्गले निर्माण गर्ने दशवटा नमुना सहरमा सूचिकृत छ । पहाडी क्षेत्रको बसाइसराइ रोक्न नमूना सहरहरु विकास गर्ने राज्यको नीति रहेको सिंहले बताउनुभयो । ‘‘देशको अर्थतन्त्र उकास्न पनि नमूना सहरहरु उपयोगी बन्ने छन् ।’’ सिंहले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाको काम पनि छिट्टै अगाडि बढाउन पहल गर्ने समेत आश्वासन दिनुभएको छ । फरक प्रसंगमा बोल्नुहुँदै मन्त्री सिंहले देशरालाई राजनीतिक स्थायित्व दिन र स्थिर सरकारमार्फत देश विकास गर्न पनि गठबन्धन सरकार २०८४ को निर्वाचनसम्म एकढिका भएर अघि बढ्ने बताउनुभयो ।

चार करोड ५९ लाख ३४ हजार रुपियाँ लागतमा निर्माणाधीन प्रशासनिक भवन माघमा सम्पन्न भएको हो । पालिकाको प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ बाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण कार्य सुरु गरी आ.व.२०७९/८० मा ढोरपाटन निर्माण सेवाले ठेक्का लिई निर्माण कार्य सुरु गरेको थियो । आ.व. २०८०/८१ मा पुनः ठेक्का भई अमित इन्फ्रा बिल्डर्स प्रालिले भवन निर्माण सम्पन्न गरेको हो ।

नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज हुने नगर उपप्रमुख धनबहादुर कायतले विश्वास व्यक्त गर्नुभयो । नयाँ भवनसँगै काम गर्ने सोच र जागर पनि नयाँ पलाउने कायतको भनाइ थियो । नगरपालिकाको आफ्नै भवनबाट सहज रुपमा सेवा प्रवाह हुने भएपछि स्थानीयवासीले समेत खुसी व्यक्त गरेका छन् ।

‘‘भवनको उद्घाटन भयो, केही दिनमा भवन स्थानान्तरण गरी सेवा प्रवाह गर्नेछौँ ।,’’ कायतले भन्नुभयो । भवन निर्माण भए पनि सवारीसाधन पार्किङस्थल, अन्य पूर्वाधार व्यवस्थापनको काम भने बाँकी रहेको कायतले जानकारी दिनुभयो । नगरपालिकाले यसअघि वार्षिक २५ लाख रुपियाँभन्दा बढी भुक्तानी गर्नेगरी भाडाको घरबाट सेवा दिँदै आएको थियो । भाडाको घरमा बस्दा नगरपालिकाले विकास खर्च समेत जोगाउन सकेको थिए ।