ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेनी आउनुभएको छ । पार्टीले मङ्गलबार बेनीमा आयोजना गर्न लागेको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनी आउनुभएको हो ।
बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीस्थित होटल ज्ञानगौरीमा बस्नुभएका अध्यक्ष प्रचण्डलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गर्नुभएको थियो । बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमकाविरुद्ध आयोजना गरिएको खबरदारी सभालाई अध्यक्ष प्रचण्डले दिउँसो सम्बोधन गर्नुहुने माओवादी केन्द्रका जिल्ला संयोजक शेरबहादुर केसीले बताउनुभयो ।
प्रचण्ड शान्ति प्रक्रियामा आएपछि चौथो पटक बेनीमा आउनुभएको हो । वि.स. २०७० को संविधानसभाको दोस्रो निर्वाचनको सभालाई सम्बोधन गर्न बेनी आएका प्रचण्ड वि.स. २०७५ कात्तिकमा स्वर्गीय पत्नि सिता दाहाललाई तातोपानी कुण्डमा स्नान गराएर उपचारका लागि आउनुभएको थियो । त्यसबेला चार दिन बेनीमा बस्नुभएको थियो ।
वि.स. २०७६ मा म्याग्दी महोत्सवको उद्घाटनका लागि प्रचण्ड बेनी आउनुभएको थियो । खबरदारी सभालाई कार्यकर्ताहरुलाई प्रशिक्षित, समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा, सरकारको नेतृत्व गर्दा माओवादीले गरेका कामको प्रचारप्रसारका साथै जिल्लाको विकास निर्माणको विषयमा केन्द्रिय स्तरका नेताहरु मार्फत सरकारको ध्यानाकर्षण गराउने पनि उद्देश्य रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।