• ९ वैशाख २०८२, मङ्गलबार

देवघाटमा भक्तजनको भीड बढेपछि आवतजावतमा समस्या

blog

झोलुङ्ग पुलमा देखिएको भक्तजनहरु भीड । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ २२ गते ।
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका र जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या भएको छ ।

देवघाटधाममा जारी देवघाट महामहोत्सवमा भक्तजनको भीड बढेपछि समस्या भएको हो । भीड धेरै हुँदा पुल चुडिने जोखिम भएपछि आवतजावतका लागि सिमा तोकिएको छ । एक पटकमा एक सय जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी त्रिशुली नदीमा रहेको ४३ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीहरुको चाप बढेको हुँदा जोखिम भएकाले सिमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा एक सय जना व्यक्तिहरु मात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

सस्पेन्सन बृज, डिभिजन, पुल्चोक, ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालाई पत्र लेखी उक्त पुल तथा सर्वसाधरण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अबलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटर गुड्ने पुल नहुँदा भक्तजनहरु अझै पनि झोलुङ्गे पुलबाट यात्रा गर्न बाध्य भएका छन् । वषौं अघिदेखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउनुहुन्छ । थापाले भन्नुभयो, ‘‘लामो बनाउनु पर्ने हुँदा पालिकासँग पुल बनाउन सक्ने क्षमता छैन सङ्घ तथा प्रदेश सरकारले वास्ता गरेका छैनन् ।’’