• २३ माघ २०८१, बुधबार

वसन्तपञ्चमीमा शास्त्रीय उत्सव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २२ गते । सांस्कृतिक संस्थानले वसन्तपञ्चमीका अवसरमा ‘वसन्त शास्त्रीय उत्सव’ आयोजना गरेको छ । संस्थानद्वारा सोमबार काठमाडौँमा आयोजित वसन्त शास्त्रीय उत्सव समारोहमा विद्या र सङ्गीतकी आराध्यदेवी सरस्वतीको पूजासहित विविध शास्त्रीय सङ्गीत र नृत्यको आयोजना गरिएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनलगायतले देवी सरस्वतीको मूर्तिमा माल्यार्पण गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो ।

सो अवसरमा सांस्कृतिक संस्थानमा कार्यरत कलाकारहरू तीर्थराज पोखरेल, सुषमा थुलुङ, राधिका भण्डारी, माया थापा, गीता थापा, सुशीला थापा, बिना विक र अक्कबहादुर पाख्रिनलगायतले सरस्वती वन्दना गायन र नृत्य प्रस्तुत गर्नुभयो ।

शास्त्रीय गायनमा पनि प्राचीन मानिने ‘धु्रपद गायन’ को प्रस्तुति कलाकारद्वय विष्णु आचार्य र अविन आचार्य, सुवास अधिकारी र मुकेश शाक्यले गर्नुभयो । कलाकार उपप्राध्यापक परशुराम पौडेलले आफ्ना गुरुको स्मृतिमा ‘अतुल ताल’ प्रस्तुत गर्नुभयो । उहाँलाई गायन र वाद्यवादनमा सन्देश हुमागाईं र रामकुमार अर्यालले साथ दिनुभएको थियो । सो अवसरमा कलाकारले भरत नाट्यम, ठुमरी, ख्याली, चर्यालगायतका शास्त्रीय विधामा आधारित नृत्य र गायनको प्रस्तुति गर्नुभयो । सोही अवसरमा सांस्कृतिक संस्थानको ३३ औँ ब्याचका गीत, वाद्यवादनका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसै गरी वसन्तपञ्चमीकै अवसरमा गैह्रीधारास्थित नील सरस्वतीस्थानमा महोत्सव आयोजना गरिएको छ । टुकुचा संरक्षण खोला सुधार उपभोक्ता समितिद्वारा आयोजित नील सरस्वतीस्थान महोत्सवमा सरस्वती पूजाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने र शैक्षिक विकासमा सहयोग पुग्ने कार्यक्रम आयोजना गरिएको थियो ।

समितिका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार स्थानीय बाल तथा युवा प्रतिभाको प्रस्तुतिका लागि मञ्च उपलब्ध गराउन महोत्सव आयोजना गरिएको हो । मन्दिरको सांस्कृतिक प्रवर्धन र स्थानीय उत्पादनको बिक्री, टोलवासीबिच भेटघाट गर्दै सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।