• २१ माघ २०८१, सोमबार

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

blog

सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधि चुमेको भण्टाबारी टिम पुरस्कार पाएपछि । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ २१ गते । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधि भण्टाबारीले जितेको छ ।  सम्पन्न फाइनल खेलमा भोक्राहालाई ५ विकेटले पराजित गर्दै कोशी क्रिकेट क्लब भण्टाबारी दोस्रो वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको च्याम्पियन बनेको हो । 

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ् गर्दै भोक्राहाले १८ औं ओभरमा अल आउट हुँदै ५९ रनको योगफल तयार पारेको थियो । ६० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ् गरेको भण्टाबारीले १० औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

भण्टाबारीलाई च्याम्पियन गराउन सकिल अहमदले सर्वाधिक ४ विकेट लिए भने सहवाज आलम र आल्मिन आलमले २–२ विकेट लिनुभयो । खेलको म्यान अफ द म्याच भण्टाबारीका सकिल अहमद घोषित भए । 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत अहमद नै भए भने उत्कृष्ट बलर भण्टाबारीकै सहवाज आलम भए । विजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि कोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालदेव सदालगायतले पुरस्कार वितरण गर्नुभयो । विजेता भण्टाबारीले सिल्ड, पदकसहित नगद २५ हजार रुपियाँ पुरस्कार हात पारे भने उपविजेता भोक्राहाले ११ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ । कोशी गाउँपालीका वडा नम्बर ७ को सहयोगमा एम्स युवा क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगितामा विभिन्न आठ वटा टोलीको सहभागिता थियो ।