शेरबहादुर राई
ओखलढुङ्गा, माघ २१ गते । ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ । हालै निर्माण सम्पन्न भएको अदालतको सुविधासम्पन्न भवनबाट सोमबारदेखि सेवा दिन थालिएको हो ।
नवनिर्मित भवनबाट जिल्ला अदालतको सेवा प्रारम्भ भएको जिल्ला न्यायाधीश गिरिराज गौतमले बताउनुभयो । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी र सहज हुने विश्वास गरिएको न्यायाधीश गौतमको भनाइ छ ।
यसअघि भएको अदालतको पुरानो भवनबाट सेवा प्रवाह गर्न भौतिक रुपमा कठिनाइ रहेकोले नयाँ भवनमा कर्मचारीलाई कार्य सम्पादन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने न्यायाधीश गौतमले बताउनुभयो । २०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिनामा भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
एसकेआई स्लेट चन्द्रज्योति जे.भीले मूल्य अधिवृद्धि कर बाहेक १९ करोड ६४ लाख १८ हजार ३२८ रुपियाँ चार पैसा लागतमा उक्त भवन निर्माण गरेको हो । ओखलढुङ्गा सदरमुकामको गोरुमारेभञ्ज्याङ नजिकै सिद्धिचरण नगरपालिका–११ मा अदालतको भवन बनेको छ ।
अदालतको लागि सुविधा सम्पन्न मुख्य कार्यालय सँगै इजलास, न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीका लागि आवास गृहको व्यवस्था छ । अदालतको मुख्य भवन पाँचतले र पक्की बनाइएको छ । खानेपानी, शौचालय र प्रतीक्षालयको राम्रो व्यवस्था गरिएको छ ।