• २१ माघ २०८१, सोमबार

३३ स्वास्थ्य संस्थामा ल्याब स्थापना, २२ सुत्केरी प्रतीक्षाघर निर्माण

blog

रामकृष्ण बोहरा
बागलुङ, माघ २१ गते ।
फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजना सञ्चालन भएको साढे ६ वर्षको अवधिमा २२ वटा सुत्केरी प्रतीक्षाघर निर्माणमा साझेदारी र पाँच स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सञ्चालनलगायतका काम भएका छन् ।

परियोजनामार्फत जिल्लाका ६९ वटा बर्थिङ सेन्टरका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर आमा र शिशुको स्वास्थ्यमा काम गरिएको फेयरमेड फाउण्डेसनका टिम लिडर राजेन्द्र रुचालले जानकारी दिनुभयो । यो समयमा गर्भवतीले नियमित गर्भ परीक्षण गर्ने, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुने तथा बालबालिकालाई समयमा खोप लगाउने सम्मका काम भएको रुचालको भनाइ थियो ।

परियोजनामार्फत आमा समूहको बैठक बसेर ग्रामीण क्षेत्रमा कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने अभियान सञ्चालन गरिएको थियो । भिडियो एक्सरे, एसबिए, सिल्ट स्पियर तालिममार्फत कुष्ठरोगको पहिचान, अपाङ्गता भएकाहरुलाई स्यानिटरी प्याड, च्याउ र तरकारी खेती तथा मुडा बनाउने तालिम दिइएको कार्यक्रम व्यवस्थापक गणेश बरुवालले बताउनुभयो । यो अवधिमा सङ्क्रामक रोगको रोकथाम, कुष्ठरोगको स्क्रिनिङ तालिम र स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।

बरुवालका अनुसार, प्रतीक्षाघरबाट गत आर्थिक वर्षमा दुई सय आठ  र चालु वर्ष चार सय छ जना गर्भवतीले लाभान्वित भएका छन् । प्रतीक्षाघरले ग्रामीण क्षेत्रका आमा र शिशुको स्वास्थ्य रक्षामा प्रभावकारी भूमिका खेलेको बरुवालले बताउनुभयो ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा ल्याब बनेपछि सन् २०२३ मा एक हजार दुई सय छ र २०२४ मा तीन हजार छ सय १४ जनाले सेवा पाएका थिए । त्यस बाहेक चार सय जनाले भिडियो एक्सरे सेवा पाएको, चार हजार छ सय जनाले गाउँघर क्लिनिकबाट सेवा पाएको, एक सय ३३ बालबालिकाले बेबी वार्मरमार्फत तातो बनाउने सेवा पाएका छन् ।

सन् २०१८ मा पश्चिम बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनबाट सुरु भएको परियोजना कार्यक्षेत्र विस्तार गर्दै जिल्लाको दश वटै स्थानीय तहमा सञ्चालित थियो । भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङको सहकार्यमा सञ्चालित परियोजना सन् २०२४ को डिसेम्बरमा समाप्त भए पनि ‘सम्बोधन’मार्फत आगामी तीन वर्ष बागलुङमा काम गरिने फेयरमेड फाउण्डेसनका टिम लिडर रुचालले जानकारी दिनुभयो ।  

परियोजनामार्फत हाल भएका कामको संस्थागत विकास र परियोजनामा भेटिएका समस्या सम्बोधनमा ध्यान दिन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको सुझाव छ । राज्यका संयन्त्रले नदेखेका समस्या खोजेर उपचारको दायरामा ल्याउने र आमा तथा शिशुको ज्यान बचाउने काम महत्त्वपूर्ण भएको थापाले बताउनुभयो ।