• २१ माघ २०८१, सोमबार

कवि शिरोमणि लेखनाथ पौड्याल

blog

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म विसं १९४१ पुस २६ गते शुक्ल एकादशीका दिन कास्कीको अर्घौं अर्चलेमा भएको थियो । उहाँ पिता पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवी पौड्यालका पुत्र हुनुहुन्थ्यो । पिता पण्डित भएका कारण प्रारम्भिक शिक्षादीक्षा पाँच वर्षको उमेरमा घरबाटै आरम्भ भयो । थप अध्ययनका लागि १५ वर्षको उमेरमा काठमाडौँको रानीपोखरी संस्कृत पाठशालामा भर्ना हुनुभयो । मध्यमासम्म अध्ययन गरेपछि परीक्षामा सामेल हुनुभयो तर सफल हुन सक्नु भएन । यसपछि उहाँको पढाइमा पूर्णविराम लाग्यो । 

नेपाली कवितालाई शिखरमा पुर्‍याएबापत उहाँलाई २००८ असार २९ गते कवि शिरोमणिको उपाधिसहित मासिक दुई सय रुपियाँ भत्ताको व्यवस्था गरिएको थियो । त्योबेला त्यति रुपियाँ निकै ठुलो हुन्थ्यो । २०११  पुस २० गते पौष शुक्ल एकादशीका दिन उहाँको जन्म तिथि पारेर रथयात्रा गरिएको थियो । नागरिक अभिनन्दन गरिनुका साथै पाँच हजार रुपियाँ पनि प्रदान गरिएको थियो । रथयात्रा लैनचौर चौताराबाट सुरु भएर ऐतिहासिक टुँडिखेल खरीबोट पुगेर टुङ्गिएको थियो । २०१४ सालमा स्थापित नेपाल एकेडेमीमा उहाँ पनि नियुक्त हुनुभयो । २०१९ सालमा यहाँको नाम चित्रअङ्कित १५ पैसाको हुलाक टिकट प्रकाशित गरिएको थियो । 

कवि शिरोमणि पौड्यालले १५ वर्षकै उमेरदेखि कविता लेख्न थाल्नुभएको थियो । गोठालो जाँदा काका नाता पर्ने पितृप्रसादको हतोत्साह र रानीपोखरी संस्कृत छात्रावासमा बस्दा अग्निधर शर्माको तिरस्कारले साहित्यमा दर्बिलो बनेर लाग्न प्रेरित गर्‍यो । उहाँको औपचारिक कवितायात्रा १९६१/६२ को ‘कविता कल्पद्रुम’ भित्रका शृङ्गार पच्चीसी र मानसाकर्षिणीबाट आरम्भ भएको मानिन्छ ।  

लेखनाथले २० वर्षको हुँदा १९६१ सालमा श्रीमती गुमाउनु पर्‍यो । घरको आर्थिक अवस्था राम्रो थिएन । यसले मनमा वैराग्य चल्यो । सन्न्यास लिने लक्ष्यका साथ स्वर्गद्वारी आश्रम पुग्नुभयो तर स्वर्गद्वारी महाप्रभु उहाँसँग सहमत हुनु भएन । उहाँकै आदेश अनुसार त्यहाँबाट फर्केर १९७२ साल वैशाखमा आफू ३१ वर्षको उमेर हुँदा १२ वर्षीय किशोरी सत्यवतीसँग दोस्रो विवाह गर्नुभयो । उहाँबाट दुई छोरी र एक छोराको जन्म भयो । 

आर्थिक समस्याबाट जीवनभर मुक्त हुन सक्नु भएन । त्यसैका लागि सप्तरीसम्म पुग्नुभयो । त्यहाँबाट आसाम जानुभयो । जहाँ गए पनि समस्या समाधान भएन । उहाँमा प्रशस्त ज्ञान र विद्वता थियो । यसर्थ कुनै बेला उहाँलाई तेजशमशेरले आर्थिक सहयोग गर्नुभयो । लामो समयसम्म भीमशमशेरको टङ्गाल दरबारमा शिक्षक पण्डितका रूपमा पनि काम गर्नुभयो । चन्द्रशमशेरको मृत्यु भएपछि भीमशमशेर प्रधानमन्त्री बनेपछि हजुरिया पण्डित बन्नुभयो । जुद्धशमशेरको शासनकालसँगै लेखनाथ पौड्यालको राणा दरबारसँगको सम्बन्ध टुट्यो । यसपछि सदाशिव दीक्षित र राममणि आचार्य दीक्षितको सहयोग महत्वपूर्ण बन्यो । जीवनको उत्तरार्धमा चितवनमा खेतीपाती गरेर जीवनयापन गर्न थाल्नुभयो । 

२०२० सालदेखि नियमित रूपमा बिरामी पर्न थाल्नुभयो । २०२२ सालमा वनारस जान लाग्दा रक्सौल पुगेपछि सिकिस्त बिरामी हुनुभयो । राजा महेन्द्र र प्रधानमन्त्रीबाट सुस्वास्थ्यको कामनासहित उपचारार्थ १० हजार रुपियाँ प्राप्त भयो । रक्सौलबाट उहाँ ‘नेपालकै माटोमा मर्छु, काशी जान पर्दैन’ भनेर फर्कनुभयो । देशलाई अत्यन्तै माया गर्ने तथा नेपाली कवितालाई उच्चताको शिखरमा पुर्‍याउन मरिमेट्ने कवि शिरोमणि लेखनाथ पौड्यालको शिवरात्रि तथा प्रजातन्त्र दिवसका दिन २०२२ साल फागुन ७ गते देवघाटको नारायणी–काली सङ्गममा निधन भयो ।  

   मुना