• २१ माघ २०८१, सोमबार

प्रदेशसभा अधिवेशन आजदेखि

blog

फडिन्द्र अधिकारी
लेखनाथ, माघ २१ गते ।
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।

माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गर्नुभएको हो । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको छ । 

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ ।

प्रदेशसभाको अर्को बैठक माघ ३० गते बलाउने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको प्रदेशसभाका सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो । प्रदेशसभाको छैठौं अधिवेशन असोज ८ गते अन्त्य भएको थियो ।

अहिले प्रदेश सभाका विषयगत समितिमा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत÷सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा छन् ।

प्रदेशसभामा माघ १५ गते ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि दर्ता भएको छ । अप्रदेश सभाबाट अहिलेसम्म ७२ ऐन निर्माण भएकोमा धेरैजसो कार्यान्वयनमा आउन सकेका छैनन् । सङ्घीय सरकारले ऐन बनाइदिँदा कतिपय ऐन कार्यान्वयनमा समस्या देखिएको छ ।