• २० माघ २०८१, आइतबार

ताल र हिमालप्रति सभापति देउवाको चिन्ता

blog

नेपाली कांग्रेस पोखरा महानगर कार्य समितिको तेस्रो महानगर सम्मेलनमा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।

रमेश पौडेल 

पोखरा, माघ २० गते। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको पहिचानका रुपमा रहेका तालको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले  माछापुच्छ्रे हिमालको उजाड अवस्था देखेर आफू चिन्तित भएकोसमेत बताउनुभयो। पर्यटकीय नगरी पोखरामा नेपाली कांग्रेस पोखरा महानगर कार्य समितिको तेस्रो महानगर सम्मेलनको आइतबार उद्घाटन गर्नुहुँदै उहाँले वातावरणीय सन्तुलन बिग्रनाले प्राकृतिक सम्पदाको अवस्था दयनीय भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो।

नेता देउवाले पञ्चायत विरुद्धको आन्दोलनमा लागेको समयमा पोखराको जेलमा बस्दा देखेको सेताम्य माछापुच्छ्रे अहिले काला पहाडमा परिवर्तन हुँदा पर्यटन व्यवसायलाई समेत असर पर्ने भएकाले वातावरण जोगाउन सबैले आआफ्नो स्थान र क्षेत्रबाट पहलकदमी गर्नुपर्ने बताउनुभयो। नेता देउवाले पर्यटन नै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने पहिलो आधार भएकाले पोखराको पर्यटनलाई दिगो बनाउन ताल र हिमालको भूमिकालाई बिर्सन नहुने विचार व्यक्त गर्नुभयो। 

सभापति देउवाले विश्वका पर्यटकको रोजाइमा रहेको पोखरालाई नेतृत्व दिन नेपाली कांग्रेस सधैँ तयार हुनुपर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र मानव अधिकारका लागि सधैँ अग्रपंक्तिमा उभिदै आएको र उप्रान्त पनि उभिने उहाँको भनाइ थियो। उहाँले पार्टीलाई अझ एक ढिक्का बनाएर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो। नेता देउवाले पार्टीमा कहिले जित त कहिले हार हुन्छ भन्दै यसलाई सहज रुपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। 

नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले कांग्रेस जनताको अभिभाव भएको बताउनुभयो। उहाँले कार्यकर्तालाई एकजुट भएर नागरिकको असल अभिभावसमेत उहाँले सुझाव दिनुभएको छ। सहमहामन्त्री जीवन परियारले कांग्रेस कै गठबन्धनबाट पोखरा महानगरपालिकाका प्रमुख विजयी भए पनि आज कांग्रेसले नै उहाँको कार्यकक्षमा ताला लगाउनुपर्ने दुखद् अवस्था आएको बताउनुभयो। उहाँले पोखराका तालको संरक्षणका लागि महानगरले हालसम्म कुनै गुरु योजना नबनाएकाले कांग्रेस महानगरपालिकाले नै गुरु योजना बनाउनुपर्नेमा जोड दिनुभयो। 

पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री डा. प्रकाश शरण महतले नेता र कार्यकर्ताको शक्तिलाई एक बनाई मिथ्या र भ्रमको खेती गर्नेहरुका विरुद्ध प्रतिवाद गर्ने समय आएको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधन भए पनि प्रदेश सरकारले नेपाली कांग्रेको घोषणापत्र अनुरुप काम गरेको दाबी गर्नुभयो। 

नेपाली कांग्रेस नगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, गुरु बराल, अब्दुल सतार, शारदा पौडेल, नैन सिंह महर, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति यज्ञबहादुर थापा, कृष्ण केसी, प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, काठमाडौं महानगरपालिका सभापति निलकाजी शाक्य, महानगरका दलका नेता दिवशमान प्रधानाङ, पूर्व सभापति बजीरमान श्रेष्ठ, महानगरका उपसभापति प्रयागराज भण्डारी, सचिव गणेश थापा, वडा नं ६ का सभापति सन्तोष पौडेल, नेविसंघका केन्द्रीय सदस्य सञ्जय आचार्य लगायतले पार्टीको सुदृढीकरण र पोखराको पर्यटनका बारेमा बोल्नुभएको थियो।