निशा राई
धरान, माघ २० गते । ताप्लेजुङको मुक्कुमलुङमा केवलकार निर्माणको काम बन्द गर्नुपर्ने माग राखी गरिएको बन्दले यात्रु अलपत्र परेका छन् । आइतबारबाट मुक्कुमलुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिले ९ जिल्ला बन्द गरेसँगै धरान उपमहानगरपालिकाबाट पूर्वी पहाडी जिल्लामा चल्ने सवारीसाधनको आवागमन ठप्प हुँदा यात्रु अलपत्र परेका हुन् ।
उपचारका लागि धरान आउनु भएको भोजपुर निवासी प्रेम राई उपचारपश्चात आज घर फर्किन लाग्दा अलपत्र परेको बताउनुभयो । सीमित खर्चमा हिँडेको थिएँ, अब बन्दले अलपत्र परेको छु’ उहाँले बताउनुभयो । उहाँजस्तै घर हिँड्नुभएका भोजपुरका सविन राई पनि अन्योलमा रहेको बताउनुभयो ।
यसैगरी गौरीगञ्जबाट पाख्रिबास हिँड्नु भएको सुधिर कटुवाल पनि धरान आएर अलपत्र परेको कारण खाने बस्नेको समस्या भएको बताउनुभयो । बन्द नै हल होइन, यसरी आमनागरिकलाई दुःख दिएर समस्याको हल हुँदैन, यसरी काम गरेर खानेलाई झन दुःख हुने भएकाले सम्बन्धित सबै निकायले आन्दोलनकारीसँग समन्वय गरी बन्द खुलाउनु पर्ने उहाँले बताउनुभयो ।
यसैगरी धरानबाट तराईतिर जाने यात्रुहरू पनि अलपत्र परेका छन् । कामविशेषले धरान आउनुभएका गुड्डु जैसवाल पनि जोगवनी घर जाने क्रममा अल्झिएको बताउनुभयो । मुक्कुमलुङमा केबुलकार निर्माणको विरोध गर्दैआइरहेको मुक्कुमलुङ संरक्षण समितिले केहि दिनअघिबाट मेची राजमार्ग तथा तमोर काेरिडोर बन्द गर्दै आएको छ । समितिले माघ २० र २१ गते ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा गरी ९ जिल्लामा सवारीसाधन बन्द गरेको छ ।