फडिन्द्र अधिकारी
लेखनाथ, माघ २० गते । आयोजक टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–२ को सेटमा पराजित गर्दै टाइगरले उपाधि जितेको हो ।
पोखरा रङ्गशालामा आइतबार भएको फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजकले चौथो सेटमा २५–१६ ले जित निकालेपछि खेल पाँचौं सेटमा पुगेको हो ।
पाँचौं सेटमा आयोजकले १५–१३ को जित निकाल्दै च्याम्पियन बनेको हो । टाइगर ग्रुपले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपियाँ र एपिएफले दुई लाख ८५ हजार ५ सय ५५ रुपियाँमा पाएका छन् । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको आयोजक टोलीले प्रथम प्रयासमै उपाधि चुमेको छ ।
यसैगरी पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जितेको थियो । गण्डकीले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
उपाधिसँगै पुलिसले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपियाँ र उपविजेता बनेको गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५रुपियाँ प्राप्त गरेको छ । प्रतियोगितामा महिला/पुरुष समान ६/६ टिमले प्रतिस्पर्धा गरेका थिए ।