राममणि दाहाल
हेटौँडा, माघ २० गते । मकवानपुरको कैलाश गाउँपालिका २ मा बागमती प्रदेश सरकारको बजेटमा कला संस्कृतिको संरक्षण र जगेर्नाका लागि स्थानीयले प्रयोग गर्ने बाजासहितको पार्क निर्माण गरिएको छ ।
प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत कैलाश गाउँपालिका २ स्थित बैकुण्ठमा डम्फु पार्क र टुङ्ना पार्क निर्माण गरिएको छ । कैलाश गाउँपालिका २ का वडाध्यक्ष राजेन्द्र घिसिङले प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत डम्फु पार्क निर्माण पूरा भएको र डम्फु पार्क परिसरमा टुङ्ना पार्क, चितुवा पार्क निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्ष २०८०-०८१ बाट निर्माण सुरुभएको डम्फु पार्कसहितको टुङ्ना पार्क र चितुवा पार्कको निर्माण कार्य चालु आवमा सम्पन्न हुने बताउनुभयो ।
उहाँले तामाङ समुदायको कला संस्कृतिको संरक्षणका लागि पनि डम्फुपार्कमा तामाङ समुदायले प्रयोग गर्ने बाजा बाजाहरू डम्फु र टुङ्नाको आकृतिसहितको मूर्ति निर्माण गरिएको बताउनुभयो ।
डम्फु पार्कमा डम्फुसहित महिला र पुरुष नाचिरहेको आकृतिसहितको मूर्ति निर्माण गरिएको हो । साथै तीन वटा चितुवासहितको चितुवा पार्क, टुङ्ना पार्क र लभ पार्क गरी डम्फु पार्क ३४ लाख रुपियाँको लागतमा निर्माणाधीन रहेको छ ।
उहाँका अनुसार प्रदेश सरकारले गत आवमा पार्क निर्माण गर्न १० लाख विनियोजन गरेकोमा चालु आवमा थप २० लाख रुपियाँ विनियोजन गरेको छ । उहाँले भन्नुभयो, लभ पार्क भने गाउँपालिकाको बजेटमा बन्नेभएको हो । उहाँले लभ पार्क चार लाख रुपियाँको लागतमा निर्माणाधीन रहेको बताउनुभयो ।