नवलपुर (नवलपरासी), माघ १९ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ऐतिहासिक धार्मिकस्थल त्रिवेणीधाममा माघेऔँसीमा साढे तीन लाख बढी भक्तजनले स्नान गरेका छन् । हरेक वर्षको माघ कृष्ण औँसीका दिन यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वाससाथ नेपाल र भारतबाट लाखौँ भक्तजन आउने गरेका गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) क्षेत्र विकास समितिले जनाएको छ ।
तीन नदीको सङ्गमस्थल त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालले बताउनुभयो । धाममा स्नान, दर्शन तथा पूजापाठका लागि आएकामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय तीर्थयात्री रहेका भुसालको भनाइ छ । नेपालका विभिन्न जिल्लासहित भारतको उत्तरप्रदेश, विहारलगायत क्षेत्रबाट यहाँ आउने धार्मिक पर्यटनको सङ्ख्या अत्यधिक हुने उहाँले बताउनुभयो । परापूर्वकालमा गजराज (हात्ती) र गोहीको लडाइँ हुँदा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाउनुभएको मान्यता अनुसार यस धामलाई गजेन्द्रमोक्ष दिव्यधाम भन्ने गरिएको जनश्रुति छ । बुवाआमा नहुनेले माघेऔँसीका दिन त्रिवेणीधाममा स्नानपछि श्राद्ध गर्ने र दान दिने चलन छ ।
त्रिवेणीधाम क्षेत्र त्रेतायुगमा ऋषि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा धार्मिक ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले बताउनुभयो । त्रिवेणीधाममा माघेऔँसीसहित विशेष गरी शिवरात्रि, साउनमा बोलबमसहित विभिन्न समयमा भक्तजनको भिड हुने गरेको गिरीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहर (शिव र विष्णुको प्रतीक) को मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेको उहाँले बताउनुभयो । मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि त्रिवेणीधाम क्षेत्रमा आउने गरेका गिरीको भनाइ छ ।