• १८ माघ २०८१, शुक्रबार

उदीपुर-रिठ्ठेबगर-नौथर सडक अलपत्र

blog

दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदीपुर-रिठ्ठेबगर-नौथर सडक निर्माण हुँदै । तस्विर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ १८ गते । दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । 

गण्डकी प्रदेश सरकारबाट पालिका केन्द्र जोड्ने योजना अन्तर्गत विनियोजित बजेटमा निर्माण थालिएको सो सडक दुई वर्षमा सक्नुपर्ने थियो । तर निर्माण सुरु भएको चार वर्ष बित्दा पनि अझै निर्माणकार्य सम्पन्न हुन सकेको छैन । सडक निर्माण सम्पन्न हुन नसक्दा नागरिकहरुले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।

पूर्वाधार कार्यालय लमजुङका अनुसार सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले गर्दै आएको छ । सो निर्माण कम्पनीसँग २०७९ असार २ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७७ असार ३ गते सम्झौता भएको थियो ।

७ दशमलव १२१ किलोमिटर कालोपत्रे गर्नका लागि २६ करोड २९ लाख ६ हजार २२५ रुपियाँमा ठेक्का लागेको थियो । हालसम्म ७० प्रतिशत मात्र का सम्पन्न भएको पूर्वाधार कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार पटकपटक गरेर तीन पटकसम्म म्याद थप गर्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

सम्झौताअनुसार २०७९ असार २ गतेभित्र कालोपत्रे गरीसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण कार्य सुरु गर्न ढिलाइ भएको भन्दै निर्माण कम्पनीले २०७९ पुस महिनासम्म म्याद थप गरेको थियो । सो समयभित्र पनि निर्माण कार्य सम्पन्न नभएपछि पुनः २०८० असार २९ गतेसम्मलाई म्याद थप गरियो । त्यो समयमा पनि निर्माण सम्पन्न नभएपछि २०८१ मङ्सिर २८ गतेसम्मलाई म्याद थप गरिएको थियो । त्यसयता हालसम्म पनि म्याद थप हुन नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

पूर्वाधार कार्यालयका अनुसार बेंसीशहर नगरपालिका १ उदीपुरदेखि दोर्दी गाउँपालिका ४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रेको योजना छ । सडकको दुई ठाउँमा गरी १ हजार ११३ घनमिटर सडक ढलान गरिनेछ । 

गााउँपालिका केन्द्र जोड्ने मुख्य सडकको निर्माणकार्य ढिलाइ हुँदा पालिकावासीलाई समस्या भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सडक निर्माण छिटो सक्न आफूले पटक पटक ताकेता गरे पनि निर्माण कार्यले गति लिन नसकेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले नालाको काम सकेर सडकमा सबबेस हाल्ने काम गरिरकेको छ । निरन्तर काम भएमा तीन महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्न सकिने भए पनि नियम संशोधन नहुँदासम्म म्याद थप गर्न नसकिने सूचना अधिकारी जोशीले बताउनुभयो ।