अनिल पराजुली
हेटौँडा, माघ १८ गते । मकवानपुरको भीमफेदी, सिमभञ्ज्याङ र दामन क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पुस अन्तिमदेखि नै जिल्लाको विभिन्न स्थानमा गुराँस फुल्न थालेको हो । यहाँ विभिन्न प्रजातिको रातो, सेतो र घिउ रङकाे गुराँस पाइन्छ ।
समुद्री सतहबाट गुराँस एक हजार तीन सयदेखि चार हजार छ सय मिटरको उचाइमा गुराँस फुल्ने गर्दछ । लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फुल्ने गर्छ । तर छिटो फुल्ने ठाउँमा पुस महिनामा पनि फुलेको देखिन्छ ।
दामनको मुख्य आकर्षणको रूपमा पनि रहेको यो फुल फुलेपछि डाँडाकाँडा नै रङ्गिन र मनमोहक हुन्छ । लालीगुराँसको बोट १० सेमीदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाइ लगभग पाँचदेखि १५ सेमीसम्म हुन्छ । फूलको आकार औसत अरू फूलभन्दा केही ठुलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा फूलका झुप्पा भई फुल्छ । रूखको उचाइ र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रङकाे हुन्छ । पहाडी भूभागमा यसको रूख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा धेरै ठुलो र झ्याम्म परेको हुन्छ ।
राष्ट्रिय महत्त्वको गुराँसको फूल पेटसम्बन्धी औषधी र सज्जामा पनि प्रयोग हुने वनस्पति विज्ञ रघुराम पराजुलीले बताउनुभयो । नेपालका ४३ जिल्लामा ३३ प्रजातिको गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ । मकवानपुरमा पाइने गुराँसहरूको आवश्यक अध्ययन र संरक्षण हुन जरुरी रहेको वनस्पति विज्ञ पराजुलीको भनाइ छ ।