• १८ माघ २०८१, शुक्रबार

बन्द कोठामा आगो नताप्नूस्

blog

जाडो सुरु भइसकेको छ । जाडोयाममा कार्बन मोनोअक्साइड (सिओ) विषाक्तताले निसासिएर मानिसको मृत्यु हुने गरेका घटना बर्सेनि सुनिन्छ । जाडोमा हिटर, ग्यास हिटर, आगो बाल्नेलगायतका कोठा तताउन विभिन्न प्रक्रिया अपनाउने गरिन्छ । नुहाउने क्रममा ग्यास गिजरको प्रयोग पनि गरिन्छ । कोठा तताउन वा नुहाउनका लागि ग्यास गिजर प्रयोग गर्दा विभिन्न घटना हुने गरेको पाइन्छ । कुनै पनि बन्द कोठामा हावा भित्रिने वा बाहिरिने अर्थात् निकास ठिक नभएमा ग्यास भरिन्छ र कार्बन मोनोअक्साइड विषाक्तता हुन्छ । कोठामा आवश्यक परिमाणमा हावा ओहोरदोहोर भए मात्रै अक्सिजनको आवश्यक मात्रा प्राप्त हुन्छ । अक्सिजन प्राप्त हुन सकेन भने मानिस निसासिन्छ । 

युनाइटेड स्टेट्स इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी (इपिए) का अनुसार सिओ ग्यास त्यति खेर उत्पन्न हुन्छ जब ग्यास, तेल, कोइला, पेट्रोल वा दाउरा जस्ता कार्बनयुक्त इन्धन पर्याप्त हावाको कमीका कारण पूर्ण रूपमा डढ्न सक्दैन । प्राकृतिक ग्यास, पेट्रोल, मटीतेल, काठ वा कोइलालाई डढाउँदा कार्बन मोनोअक्साइड ग्यासको उत्पादन हुन्छ । बन्द कोठामा ग्यास हिटर प्रयोग गर्दा, आगो बाल्दा कार्बन मोनोअक्साइड उत्पन्न हुन्छ । चिम्नी, हावा आउने जाने ढोका वा झ्याल ठिक नहुँदा यस्तो ग्यास कोठामा जम्मा हुन्छ ।  

यस्तो ग्यास मानिसको फोक्सोमा पुगेर रगतको हेमोग्लोबिनसँग मिसिन्छ । जसले गर्दा रगतमा अक्सिनको मात्रा कम हुन्छ । अक्सिजन अभाव भएपछि शरीरका कोष मर्न थाल्छन् । यसले सबै अङ्ग प्रभावित हुन थाल्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कार्बन मोनोअक्साइड अक्सिजनको कमीले तन्तु र कोषिकालाई क्षति पुर्‍याउँछ । कार्बन मोनोअक्साइडका कारण सास फेर्न कठिन हुन्छ । थकाइ लाग्ने, चक्कर लाग्ने वा अन्य लक्षण देखापर्छ । “कार्बन मोनोअक्साइड रगतमा मिसिँदा हेमोग्लोबिनले अक्सिजन लिन नपाएर मानिसको मृत्यु हुन्छ,” राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भन्नुभयो । उहाँका अनुसार जाडोयाममा बन्द कोठामा आगो ताप्दा निदाएकै अवस्थामा मानिसको मृत्यु हुन्छ । कार्बन मोनोअक्साइडको रङ पनि हुँदैन, गन्ध पनि हुँदैन । देख्न नसकिने भएकाले मानिसलाई कोठामा यो ग्यास वृद्धि भइरहेको थाहा नै हुँदैन । निद्राकै अवस्थामा निसासिन्छ र मानिसको मृत्यु हुन्छ । कतिपय त बेहोस हुन्छन् ।  

जाडोमा कोठा तताउन आगो बाल्दा, हिटरलगायतका उपकरण प्रयोग गर्दा टाउको गह्रौँ हुने, चक्कर आउने जस्ता अनुभव भए तुरुन्त झ्याल ढोका खोल्नु पर्छ । सकिन्छ भने तत्कालै चिकित्सकसँग परामर्श गर्नु पर्छ । जाडो मौसममा घरमा आगो बाल्दै हुनु हुन्छ भने सुत्नुअघि शरीर र कोठालाई तातो पार्ने सबै उपकरण निभाउनुहोस् । घरभित्र कोइला वा काठ जलाउनु हुँदैन । घरमा भेन्टिलेसन अर्थात् हावा ओहोरदोहोर गर्ने व्यवस्था हुनु पर्छ । ‘कसै कसैलाई पो खराब गर्छ, सबैलाई त कहाँ खराब गर्छ ?’ भनेर लापर्बाही गर्नु हुँदैन । मुना    

Author

अतुल मिश्र