भाइबहिनीहरू, पुस्तक पढ्न कतिको मन पर्छ ? विषयगत पुस्तक मात्र अध्ययन गर्नुहुन्छ वा पाठ्यक्रमबाहिरको पनि अध्ययन गर्ने बानी छ ? अझ विद्यार्थी जीवनमा त झनै नयाँ नयाँ विषयवस्तुबारे जानकारी पाउनका लागि विभिन्न पुस्तक अध्ययन गर्नुपर्ने हुन्छ । पुस्तक पढ्नुको फाइदा र महत्वका बारेमा चर्चा गरौँ है ?
‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ यो भनाइ दार्शनिक थोरोको हो । तपाईंहरूले पनि यो भनाइ सुन्नुभएको हुनु पर्छ । मानिस सधैँ अध्ययनको भोको हुनु पर्छ । पुस्तक अध्ययनले मानिसको जीवनशैली परिवर्तन हुन्छ । पुस्तक अध्ययनबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्त गर्न सकिन्छ । पुस्तकले समाजको संस्कृति, सभ्यता र व्यवहारको जानकारी दिन्छ । कुनै पनि पुस्तकले केही न केही सन्देश र ज्ञान दिएकै हुन्छ । ज्ञानको दायरालाई फराकिलो बनाउन पुस्तकको सहारा लिनु पर्छ । समाजको हरेक विचार र दृष्टिकोणमा परिवर्तन ल्याउन र संसारलाई बुझ्न पुस्तक पढ्नु जरुरी छ ।
हुन त आजको युग विज्ञान र प्रविधिको हो । आधुनिक प्रविधिको जमानामा सञ्चार माध्यम हुँदाहुँदै पुस्तक कसले पढ्छ र भनिन्छ होला तर पुस्तक गहकिलो, सहज, विश्वासिलो र आधिकारिक हुन्छ । पुस्तक ज्ञानको भण्डार हो । यसले मान्छेको सोचलाई विकसित गर्छ । साथै हाम्रो विश्लेषणात्मक र लेखन कौशललाई पनि विकसित गर्छ ।
पुस्तक त्रिनेत्र हो । तेस्रो आँखालाई त्रिनेत्र भनिन्छ । यसले मान्छेमा ज्ञानमार्फत बुद्धि, विवेकको प्रकाश भरिदिन्छ । पुस्तकले ज्ञान दिन्छ । विचारलाई महान् बनाउँछ । अन्धकार हटाई उज्यालो फैलाउँछ । प्रेरणा प्रदान गर्छ । एउटा राम्रो पुस्तकले हाम्रो सोच्ने क्षमता, कुरा गर्ने तरिका, कुनै पनि चिजलाई विश्लेषण गर्ने तरिकालाई बदल्ने शक्ति राख्दछ । पुस्तकले मान्छेको एक्लोपनलाई टाढा राख्दछ । पुस्तक ज्ञानको अनमोल स्रोत हो । यसले हाम्रो जीवनमा सार्थकता प्रदान गर्दछ । त्यसैले पुस्तकलाई आत्मीय साथी बनाउन सक्नु पर्छ ।
जसरी तरबार धारिलो बनाउनका लागि धार तिखार्न ढुङ्गाको आवश्यक पर्छ, त्यसरी नै दिमाग तिखार्नको लागि पुस्तकको आवश्यकता पर्दछ । पुस्तकबाट हामीले थरी थरीका ज्ञानका कुरा थाहा पाउँछौँ । त्यसैले त पुस्तक ज्ञानको भकारी त हुँदै हो, यसलाई हामी मनोरञ्जनको आलमारी पनि मान्न सक्छौँ । पुस्तकमा यति धेरै खजाना लुकेको हुन्छ, जसलाई कुनै लुटेराले कहिल्यै लुट्नसमेत सक्दैन । त्यसैले आजैबाट पुस्तक पढ्ने बानीको विकास गरी आफ्नो ज्ञानको दायरा अझै बृहत् र फराकिलो बनाऔँ । पुस्तक पढ्ने बानी हामी मुना बालपत्रिकाबाट सुरु गर्न सक्छौँ । मुना पत्रिका नियमित पढ्ने गरौँ । त्यसले हामीलाई पढ्ने बानी बस्न थाल्छ र क्रमशः अन्य पुस्तक पढ्नेतर्फ ध्यान आकृष्ट हुन्छ ।