पर्खी बसेँ पुस १५, नयाँ उमङ्गको लागि !
मनाऊँ ल्होसार, हाम्रो पहिचानको लागि !!
तमु ल्होसार २०८१ को आह्वान !
मौलिक भाषा, धर्म, संस्कार–संस्कृतिसहितको सम्मान !!’
तमु अर्थात् गुरुङ समुदायको महान् चाड तमु ल्होसार हो । ल्हो पद्धति अनुसार पुस १५ गते नयाँ वर्षका रूपमा मनाइन्छ । यो वर्ष २०८१ पुस १५ गते मुप्रि–ल्हो (गरुड वर्ग) को बिदाइ र सप्री ल्हो (नाग वर्ग) को स्वागत गरिने छ । ल्हो भनेको ‘वर्ष’ अथवा ‘संवत्’ र ‘सर’ भनेको ‘नयाँ’ हो । ल्होसारको अर्थ नयाँ वर्ष हो । नयाँ वर्षलाई तमु भाषामा ‘ल्होसार’ भनिन्छ । सबैले ‘आशिमलाँ’ (शुभकामना) भनेर स्वागत गर्दछन् ।
विभिन्न १२ वटा पशुपन्छीको नामबाट १२ वटा ल्होको नाम राखिएका छन् । गुरुङ समुदायमा ती १२ वर्गभित्र च्यु (मुसा), ल्वो (गोरु), तो (बाघ), ह्युइ (बिरालो), मुप्री (गरुड), सप्री (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (कुखुरी/चरा), खि (कुकुर) र फो (सुँगुर) पर्दछन् । यी वर्ग हरेक १२ वर्षमा दोहोरिन्छ ।
संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार गुरुङहरू सौरमास अनुसार पुस १५ गतेका दिन तमु ल्होसार मान्दछन् । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त्य भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुन्छ । गुरुङ समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होसार भनिएको हो ।
नयाँ वर्ष अर्थात् ल्होसारमा परम्परा अनुसार पुरोहित (खेगी) पच्यु, क्याब्री र लामाबाट पुस १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति गराउँछन् । र भोलिपल्ट नयाँ बिहानीको झुल्केघामसँगै नयाँ वर्गको स्वागत गर्दछन् । अग्रजहरूबाट आशीर्वाद थाप्दै घर घरमा ल्होसार मनाउँदछन् ।
तमुहरूको साझा सामाजिक संस्था तमु ह्युल छोँजधि (गुरुङ राष्ट्रिय परिषद्) रहेको छ । हरेक वर्ष यही संस्था अन्तर्गत विभिन्न तमु संस्था एकताबद्ध भएर ल्होसार मूल आयोजक समिति गठन गरी भव्य र सभ्य ढङ्गले तमु ल्होसार मनाउने गरिन्छ । शुभकामना आदानप्रदान गर्दै यो महान् चाडको रौनक साटासाट गर्ने गर्दछन् ।
‘गुरुङ जाति हिन्दु वर्णाश्रमभित्र पर्दैन’ परिषद्का पूर्वअध्यक्ष रेसम तमुले भन्नुभयो । उहाँले छोँजधिले संस्थागत रूपमा ल्होसार राष्ट्रिय चाडका रूपमा मनाउन गुरुङ जातिको घर घरमा, मन मनमा पुर्याउने काम गर्दै आएको बताउनुभयो ।
तमुहरूले भाषा, धर्म, कला, संस्कार, संस्कृति, वेशभूषा र चाड तमु पहिचानको मूल कडी ठान्दछन् । समुदायको माग अनुसार नेपाल सरकारले २०५७ सालदेखि पुस १५ गते गुरुङ जातिले मात्र एक दिन बिदा पाउने निर्णय गरेको थियो । २०६३ सालदेखि तमु ल्होसारमा सार्वजनिक बिदा दिन थालिएको हो ।
राष्ट्रिय जनगणनाको तथ्याङ्कले गुरुङ जातिको जनसङ्ख्या पाँच लाख ४३ हजार ७९० रहेको छ । यसै गरी गुरुङ भाषा बोल्नेको जनसङ्ख्या तीन लाख २८ हजार ७४ जना रहेको छ । ऊर्जाशील तथा सिर्जनात्मक ढङ्गले ल्होसारको आयोजना हुने गरेको छ । युवा पुस्ताको बृहत् सहभागितामा ल्होसार विचार गोष्ठी, शुभकामना आदानप्रदान, लोकदोहोरी प्रतियोगिता, सांस्कृतिक नृत्य प्रतियोगिता, झाँकी र्याली प्रदर्शन, छेलो र अन्य खेलहरूको प्रतियोगिता गर्ने गरिएको छ ।