गुणबहादुर रोका
सुलीकोट, माघ १८ गते । गोरखामा एक पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको छ । गोरखा नगरपालिका – १० छेपेटारको तारामाबिस्थित रामशरण पोखरेलको जस्ताले छाएको पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान ३ बजेको समयमा होटेल तथा फेन्सी पसलको चाबी फुटाएर भित्रको लत्ताकपडा, भाडाकुडा, फ्रिज टेबुलकुर्चीसहित पूरै पसलमा कसैले आगो लगाइदिएको हुन सक्ने उहाँको भनाइ छ ।
‘‘पसलभित्र रहेका सामन आगोले जलेर नष्ट भएको छ ।,’’ प्रहरी उपरीक्षक सुबेदीले भन्नुभयो, “घरभित्रको होटेलका सामन, लत्ताकपडा, टेबुल दराज, फ्रिज, भाडाकुडाँलगायतका सामन जलेर पूर्णरुपमा क्षति भएको छ ।”
घटनाको जानकारी पाएलगत्तै बाह्रकिलो प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट मानिवय क्षति नभएको प्रहरीको भनाइ छ ।
अहिले प्रहरीले घटनास्थलमा वडाका जनप्रतिनिधि र स्थानिको रोहबरमा क्षतिको मुचुल्का तयार पार्नुका साथै घटनबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।