• १८ माघ २०८१, शुक्रबार

‘पर्वले संस्कृति प्रवर्धनमा योगदान गर्छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १८ गते । तामाङ समुदायमा प्रचलित विविध  सांस्कृतिक प्रस्तुतिसहित  सोनाम ल्होसार (नयाँ वर्ष, सर्प वर्ष) २८६१ मनाइएको छ ।  राष्ट्रिय सोनाम ल्होसार २८६१ डुल (सापुख्री)  ल्होसार मूल समारोह समितिद्वारा बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा विभिन्न जातीय सङ्घ संस्था र कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए ।  

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले कार्यक्रमको उद्घाटन गर्दै तामाङ समुदाय सांस्कृतिक, कला, भाषा, पहिरनलगायतका दृष्टिले सम्पन्न समुदाय हो भन्नुहुँदै पछिल्ला केही वर्षदेखि सार्वजनिक रूपमा पनि मनाइने यस पर्वले संस्कृति प्रवर्धनमा योगदान पुग्ने बताउनुभयो । उहाँले बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणाको कार्यान्वयन हुने चरणमा रहेको बताउनुभयो । यस वर्ष ‘मञ्जुश्री संवत् २०६१ सोनाम ल्होसार भव्य रूपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने नारासहित आयोजित ल्होसार सांस्कृतिक कार्यक्रमको सुरुवात लामा, बोन्बोको पूजा प्रार्थनासहित सुरु भएको थियो ।   

आदिवासी जनजाति तामाङ समुदायले मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमसहित मनाइने आगामी वर्ष शुभ होस् भन्दै  समृद्धि, स्वस्थ जीवनको कामनासहित मनाइएको छ । पूजा, पारिवारिक भेटघाटसहित घर, गुम्बा र सार्वजनिक स्थानमा भेला भएर सामूहिक रूपमा मनाउने परम्परा रहेको छ ।   

नेपाल तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष एवं कार्यक्रमका सहआयोजक वीरबहादुर लामाले तामाङ समुदायले घर घरमा तामाङ भाषा बोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा भएको अवस्थामा समुदायले पनि भाषाको प्रवर्धनमा विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल तामाङ घेदुङका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक मोहन गोलेले तामाङ समुदायको  सांस्कृतिक परम्परा अनुसार गीतसङ्गीत,   समुदायका गुरु, मान्यजन लामा, बोम्बो, ताम्बाले विधिपूर्वक पूजा प्रार्थना गर्दै आगामी वर्षको शुभ रहोस् भन्ने कामनासहित ल्होसार पर्व नेपाललगायत देश विदेशमा पनि मनाउने क्रम बढेको बताउनुभयो ।

तामाङ घेदुङका महासचिव जगतमान लामा दोङले देश विदेशमा ल्होसार पर्व र तामाङ परम्परा र वेशभूषाका बारेमा  प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सांस्कृतिक पर्वको महत्व बढिरहेको  बताउनुभयो । सो अवसरमा तामाङ समुदायका इतिहास, साहित्यलगायत विभिन्न विषयमा लेखिएका पुस्तक, तामाङ वेशभूषा र खानाका परिकारका स्टल राखिएको थियो । सोनाम ल्होसारका अवसरमा शैलेन्द्रमान वज्राचार्य, मानबहादुर दोङलगायतलाई सम्मान गरिएको थियो ।