बुटवल समाचारदाता
बुटवल, माघ १७ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुककै अभिभावक भइसकेका पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले राष्ट्रकै अभिभावकको जिम्मेवारी पूरा गरिसकेका व्यक्ति सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजाने बताउनुभयो ।
अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जोडेर सक्रिय राजनीतिमा फर्किन चाहेको चर्चा कतिपय क्षेत्रबाट चलाइएको भन्दै ज्ञवालीले भन्नुभयो, “सम्माननीय पूर्वराष्ट्रपतिको पनि चाहनाविपरीत चर्चा चलाइएको छ, यसमा सत्यता छैन ।” यद्यपि उहाँले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनाबारे पार्टीमा भने हालसम्म छलफल नभएको बताउनुभयो । “पार्टीमा छलफल भयो भने एक खालको धारणा बन्ला तर सक्रिय राजनीतिमा आउनु त्यत्ति उपयुक्त हुँदैन,” उहाँले भन्नुभयो ।
मुलुकमा दुई ठुला दलको सरकार बनेपछि सुशासन कायम हुँदै गएको, अर्थतन्त्र लयमा फर्किएको र जनतामा सकारात्मक भावना बढ्दै गएको भन्दै ज्ञवालीले तर भ्रमको खेती गर्नेबाट नकारात्मक भाष्य सिर्जना गर्ने र मुलुकलाई अप्ठ्यारो दिशातर्फ धकेल्ने प्रयत्न भइरहेको बताउनुभयो । उहाँले चीनसँगको बिआरआई सम्झौता मुलुकको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको र यसखालका सम्झौता मुलुकको हितका लागि अन्य मुलुकबाट पनि प्रस्ताव आए अगाडि बढाउन सकिने बताउनुभयो । “विश्वकै दोस्रो र पाँचौँ ठुलो अर्थतन्त्र भएका ठुला छिमेकी देशको आर्थिक विकासबाट मुलुकले लाभ उठाउने गरी अगाडि बढ्नु पर्छ, सरकार त्यस दिशातर्फ अग्रसर भइरहेको छ,” ज्ञवालीले भन्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका ज्ञवालीले अमेरिकी ट्रम्प प्रशासनले लिएको अनुदानसम्बन्धी नीतिबाट नेपालको स्वास्थ्यलगायतका केही क्षेत्र प्रभावित हुन सक्ने पनि बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र भ्रमपूर्ण विषयमार्फत देश र समाजलाई नै विभाजित गर्ने प्रयत्न भइरहेको भन्दै भ्रमपूर्ण सूचनाबाट बच्न, तथ्य र सत्य विचार पस्किन र लोकतन्त्रको संरक्षण गर्नका लागि सरकारले सामाजिक सुरक्षा विधेयक ल्याउन लागेको जानकारी पनि दिनुभयो ।