अनिल पराजुली
हेटौँडा, माघ १६ गते । १६ औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले नेपाली गीत सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख राशिको पुरस्कार प्रदान गरेको हो ।
शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पुर्याइरहनुभएको छ । उद्यमी व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको हो । समारोहमा बोल्दै गीतकार शाहले आफूले कहिल्यै पनि गीतकारका रूपमा चिनिनका लागि गीत नलेखेको बताउनुभयो ।
यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान, राजेन्द्र थापा सम्मानित हुनुभएको हो ।
साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले शाहलाई पुरस्कार समर्पण गर्नुभएको थियो । कार्यक्रममा कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले शाहको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।