धर्बेन्द्र झा
जनकपुरधाम, माघ १५ गते । धनुषामा सहिद दुर्गानन्द झाको ६१ औं बलिदानी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सहिद झाको गाउँ नगराइन नगरपालिकाको जटहीमा नेपाली काँग्रेस धनुषाले एक कार्यक्रमको आयोजना गरी सहिद झाको तस्विरमाथि माल्यार्पणका साथै झाले दिएको योगदानमाथि चर्चा गरेको छ ।
काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहिद झाले दिएको योगदानको राज्यले सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । बक्ताहरुले सहिद झाको पैतृक गाउँ जटहीमा झाको नाउँमा अस्पताल बनाउने राज्यको योजना अहिलेसम्म पूरा हुन नसकेको भन्दै त्यसलाई पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
पूर्व प्रतिनिधिसभा सदस्य एवम काँग्रेसका नेता स्मृतिनारायण चौधरीले सहिद झाको नाउँमा अस्पताल निर्माणका लागि दुरुस्तरुपमा कागजातहरु तयार पारेर सरकारलाई दवाव दिनका लागि आग्रह गर्नुभयो । कार्यक्रममा काँग्रेसका पूर्व सभापति रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, युवा नेता प्रवेश चौधरी सहितले झाको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।
नेपालमा परिवर्तन आएको लामो समयपछि वि.स २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई सहिद घोषणा गरेको थियो ।