• १७ माघ २०८१, बिहिबार

शिक्षक अभावमा प्रयोगविहीन कम्प्युटर

blog

कक्षा कोठाभित्र थन्किएका कम्प्युटरहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १५ गते ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्णभवन धर्म माध्यमिक विद्यालयमा शिक्षकको अभावमा दाताले सहयोग गरेका कम्प्युटर अलपत्र परेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर विषयको शिक्षा प्रदान गर्न दाताहरुबाट विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको थियो ।

विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था नहुँदा दाताहरुले सहयोग गरेका १५ वटा डेक्सटप कम्प्युटर र पाँचथान ल्यापट प्रयोगविहीन अवस्थामा कोठामा अलपत्र परेका छन्  । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिन दाताहरुबाट कम्प्युटरहरु सहयोग प्राप्त भए पनि शिक्षकको अभावले कोठामा थन्काउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक बालाकृष्ण ज्ञवालीले बताउनुभयो । शिक्षक व्यवस्थापन गरेर कम्प्युटर शिक्षाको पढाइ गर्न विद्यालयमा स्रोतको अभाव भएको उहाँको भनाइ छ ।

कम्प्युटर शिक्षकका लागि मासिक २५ देखि ३० हजार रुपियाँ आवश्यक पर्दछ प्रधानाध्यापक ज्ञवालीले भन्नुभयो, ‘‘विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर विषय पढाउनका लागि कम्प्युटर सहयोग गर्नुभयो तर शिक्षक नहुँदा त्यसै थन्किएर बसेका छन् । विद्यायमा कम्प्युटर शिक्षकको सरकारी दरबन्दी हुँदैन । विद्यालयको आन्तरिक स्रोतबाट शिक्षकको व्यवस्थापन गर्नुपर्दछ । हामीसँग त्यस्तो स्रोत छैन । कम्प्युटर प्रयोगमा नआएपछि अहिले धेरैजसो बिग्रिएका छन् । मर्मत गर्न करिब एक लाख रुपियाँ आवश्यक पर्दछ ।’’

कम्प्युटर कक्षा सञ्चालन गर्ने विद्यालयले प्रयास गरे पनि विद्यालयमा विषयगत शिक्षक र बिग्रिएका कम्प्युटर मर्मत गर्ने रकमको अभाव भएको उहाँले बताउनुभयो । केही वर्ष कम्प्युटर विषयको पढाइ भए पनि पछि शिक्षकको अभाव भएपछि कम्प्युटरहरु सञ्चालनमा नआएकै कारण क्रमिक रुपमा बिग्रिदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद आचार्यले बताउनुभयो । कम्प्युटर शिक्षा आजको अनिवार्य आवश्यकता भए पनि स्रोतको अभावमा दाताले सहयोग गरेका कम्प्युटर पनि कोठामा थन्काएर राख्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । 

कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्रोतको व्यवस्थापनमा आफू खटे पनि जुटाउन नसकिएको उहाँको भनाइ छ ।