गोरखापत्र अनलाइन
वर्दिया, माघ १४ गते । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले अनेक खालका घेराबन्दी गरिएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकारविरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको बताउनुभयो ।
‘प्रधानमन्त्री ओलीमाथि घेराबन्दी भइरहको छ, निकै ठुलो भ्रम फैलाउने काम भइरहेको छ, निकै धेरै मिथकहरू फैलाइएका छन्’ उहाँले भन्नुभयो । सरकारले गरेका सकारात्मक कामको पनि चर्चा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने र रोकिएका विकास निर्माणलाई अघि बढाउने काम गरिरहेको भन्दै पाण्डेले यस्ता विषय समाचारका विषय बन्नुपर्ने बताउनुभयो ।
अहिले केही शक्तिहरूबाट नेपालको विकासको गति रोक्ने र आत्मनिर्भर नेपाल बनाउने अभियानलाई रोक्ने प्रयत्न भइरहेको पाण्डेले बताउनुभयो । यसतर्फ सञ्चार जगत् सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यस्ता प्रवृत्तिका विरुद्ध जुध्न र कलम चलाउन पत्रकारहरूलाई अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।