काठमाडौं, माघ १४ गते । माघ १८ गतेबाट सुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरूका प्रमुख सचेतक/सचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।
उहाँका अनुसार २५, २६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८, २९ र ३० गते पुनः संसदको बैठक बस्नेछ । संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताउनुभयो । त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरू सबै पेस हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पार्ल्यामेन्ट चलाउँछौँ । १८ गतेबाट सुरु हुन्छ । २२, २३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरू सबै पेस हुन्छ । २५,२६ र २७ संसदीय समितिको बैठक हुन्छ । २८, २९ र ३० गते पुनः संसद बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’’
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुरा गर्नुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि सुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गर्नुभएको बताउनुभयो । उहाँले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सम्माननीय सभामुखज्युले सम्पूर्ण दलका प्रमुख सचेतकहरूलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरू त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि सुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रूपमा छलफल भयो । १८ गते सुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मका लागि क्यालेन्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’’
त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताउनुभयो । उहाँले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरूले गरिरहेको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरू गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार संसदप्रति उत्तरदायी छैन भन्नेकुरा देखियो ।’’
प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताउनुभयो । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मङ्गलबार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।