• १४ माघ २०८१, सोमबार

अवैध उत्खनन रोक्न प्रहरी सक्रिय

blog

ढल्केबर समाचारदाता 

ढल्केबर, माघ १४ गते  । धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोरबाटोहरू बन्द गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने विभिन्न चोरबाटो जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ । 

रातिको समयमा नदीजन्य पदार्थ दोहन गर्न थालेपछि त्यसलाई पूर्ण रूपमा बन्द गर्न चोरबाटो बन्द गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले बताउनुभयो । उहाँले अवैध उत्खननमा प्रयोग भएका ट्याक्टर तथा मेसिन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको बताउनुभयो । धरपकड गरेर जरिबाना तिराए पनि अवैध दोहन बन्द नभएपछि यो उपाय अपनाएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।

यसै गरी इलाका प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक अशोककुमार झा र इलाका प्रहरी कार्यालय पोर्ताहाका प्रहरी नायब निरीक्षक राजन थापाले गणेशमान चारनाथ नगरपालिकाभित्र पर्ने कमला चारनाथ खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न चोरबाटो बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार ट्याक्टर, टिप्पर र जेसिबी मेसिन खोलामा लैजान प्रयोग गरिएको बाटोमा खाडल खनेर नदी दोहन बन्द गर्ने प्रयास गरिएको छ ।  

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादवले नगर क्षेत्रभित्र पर्ने खोला आन्तरिक समस्याका कारण यस वर्ष ठेक्कामा लाग्न नसके पनि अवैध उत्खनन भइरहेकाले प्रहरीको सहयोगमा सो बाटो बन्द गरिएको बताउनुभयो । उहाँहरूले स्थानीय तहमा दर्ता नभएको, नवीकरण नगरेको र राजस्वसमेत नबुझाएका क्रसर उद्योगसमेत बन्द गराएको जानकारी दिनुभयो । 

पछिल्ला केही वर्षयता धनुषाको उत्तरी क्षेत्रमा पर्ने जलाद, औरही, बडहरी, रातु र कमला नदीबाट हुने गरेको गिट्टी, बालुवाको दोहन रोकथाम गर्न स्थानीय तह र प्रहरी प्रशासनका लागि चुनौती बनेको छ । खोला किनारमा रहेका क्रसर उद्योगी तथा गाउँका केही व्यक्तिले रातिको समयमा जेसिबी, टिप्पर र ट्याक्टर प्रयोग गरेर बालुवा, गिट्टीको अवैध उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।