भैरहवा समाचारदाता
भैरहवा, माघ १४ गते । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक सचेतनालाई अभियानका रूपमा अगाडि बढाएको छ । ट्राफिकले सवारीचालकलाई लेन अनुशासन सिकाउनुका साथै सडकमै ट्राफिक सचेतनालाई अभियान प्रभावकारी रूपमा अगाडि बढाएको हो ।
सवारीको चापसँगै रुपन्देहीमा सवारी दुर्घटना दिनप्रतिदिन बढ्दै गएको निष्कर्षसहित प्रहरीले यस्तो अभियान थालेको हो । बढ्दो सवारी चाप, लेन अनुशासनको उल्लङ्घन, तीव्र गतिमा सवारी हाँक्नेलगायतका कारण सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।
पुस मसान्तसम्म १२९ वटा सवारी दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी ११३ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा १५७ वटा दुर्घटना हुँदा ७६ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्कले देखाएको छ । रुपन्देहीमा सवारी दुर्घटनाको जोखिम घटाउन ट्राफिक प्रहरीले ट्राफिक सचेतनालाई अभियानका रूपमा अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार चालकले मदिरा र लागुपदार्थ सेवन गर्दा निर्णय लिने क्षमता र समन्वयमा कमी आउँदा पनि दुर्घटनाको सम्भावना बढिरहेको छ ।