• १४ माघ २०८१, सोमबार

बढ्दै कुष्ठरोगका नयाँ बिरामी

कुष्ठरोगमुक्त नेपाल घोषणामा चुनौती

blog

सुर्खेतस्थित साइनिङ अस्पतालमा उपचार गराइरहेका कुष्ठरोगका बिरामी ।

ललित बसेल 

सुर्खेत, माघ १४ गते । कर्णालीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्यमा चुनौती देखिएको छ । पछिल्लो पाँच वर्षमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर बढ्दै गएपछि यो चुनौती देखिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कुष्ठरोगका नयाँ बिरामी बढिरहेका छन् । 

७२ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आव २०७६/७७ मा कुष्ठरोगका ५५ जना नयाँ बिरामी पत्ता लागेको जनाएको छ । त्यसपछि आव २०७७/७८ मा ६७ जना, आव २०७८/७९ मा ६८ जना, २०७९/८० मा ७३ जना र आव २०८०/८१ मा ८० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । निर्देशनालयका क्षयकुष्ठ अधिकृत पदम केसीले बर्सेनि कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने सङ्ख्या बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारको लक्ष्यमा चुनौती थपिएको बताउनुभयो । 

यसै गरी उपचारमा रहेका कुष्ठरोगका बिरामीको सङ्ख्या पनि बढेको छ । आव २०७६/७७ मा ६८ जना उपचाररत रहेकोमा आव २०७७/७८ मा ७७ जना, आव २०७८/७९ मा ८४ जना, आव २०७९/८० मा ९२ जना र आव २०८०/८१ मा १०२ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका छन् । यस्तै उपचार पूरा गरी निको भएका बिरामीको सङ्ख्या पनि बढेको छ । आव २०७६/७७ मा ७१ जना, आव २०७७/७८ मा ६४ जना, आव २०७८/७९ मा ६८ जना, आव २०७९/८० मा ६९ जना र आव २०८१/८१ मा ७६ जना कुष्ठरोगका बिरामी उपचार पूरा गरी निको भई गएको निर्देशनालयका क्षयकुष्ठ अधिकृत केसीले बताउनुभयो । 

कर्णालीमा सबैभन्दा धेरै कुष्ठरोगका नयाँ बिरामी सुर्खेतमा पत्ता लागेको छ । सुर्खेतमा २२ जना, सल्यान र जाजरकोटमा समान नौ जना, कालीकोट र दैलेखमा छ/छ जना, रुकुम पश्चिममा पाँच जना, जुम्ला र मुगुमा पाँच/पाँच जना, डोल्पामा दुई जना नयाँ बिरामी फेला परेका छन् । डोल्पामा दुई जना नयाँ बिरामी फेला परेका छन् । हुम्लामा भने नयाँ बिरामी फेला नपरेको जनाइएको छ । उहाँले कुष्ठरोगप्रति समाजमा अझै पनि नकारात्मक धारणा हाबी भएकाले जनचेतनाका माध्यमबाट भेदभाव र लाञ्छना हटाउन जरुरी रहेको बताउनुभयो । अबको पाँच वर्षभित्र नेपाललाई कुष्ठरोगमुक्त बनाउने अभियान चुनौतीपूर्ण रहेको हुँदा सबैको सहकार्यले सम्भव बनाउनुपर्ने उहाँको भनाइ छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले कुष्ठरोगमुक्त गर्ने अभियानमा हातेमालो गर्न सबैसँग आह्वान गर्नुभयो । साथै कुष्ठरोगी र उनीहरूका परिवारलाई गर्ने भेदभाव हटाउन सचेतनाको कामलाई पनि अगाडि बढाइएको उहाँले जनाउनुभयो । सुर्खेतमा साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतमा कुष्ठरोगका बिरामीको उपचार गर्न पाँच शøयाको अस्पताल सञ्चालनमा छ । अहिले उक्त अस्पतालमा छ जना कुष्ठरोगका बिरामी उपचाररत छन् । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारूले कुष्ठरोगमुक्त गर्ने अभियानको अवधि कम भएको तर नयाँ बिरामी फेला पर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।