दार्चुला समाचारदाता
दार्चुला, माघ १४ गते । दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । किम्तडी भिरमा खसेको पहिरो पन्छाउन नसक्दा तीन दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोले विद्युत् लाइनमा समेत क्षति पुगेको छ ।
शुक्रबार बिहान ६ बजेको समयमा निर्माण क्षेत्रमाथिबाट पहिरो खस्दा एक्साभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको थियो भने एक्साभेटर अपरेटर जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ घर भएका रेसम बुढा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते चालकलाई दार्चुलामा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उद्धार गरेर धनगढी लगिएकामा धनगढीबाट समेत कोहलपुर रेफर गरिएको निर्माण व्यवसायी सुरेन्द्र बमले बताउनुभयो । अवरुद्ध सडक खुलाउन शनिबारदेखि महाकाली नगरपालिकाको एक्साभेटर प्रयोग गरिए पनि माथिबाट पहिरो खसिरहेकाले काम गर्न अप्ठ्यारो भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन अझै एक/दुई दिन लाग्न सक्ने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि दार्चुलाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाडौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलङ्गा भित्रिने यातायातका साधन र यात्रुलाई समस्या भएको छ । खलङ्गाबाट किम्तडीसम्म पैदल हिँडेर यात्रा गर्नु परेको यात्रु लीलाधर जोशीले बताउनुभयो । यात्रुका लागि सशस्त्र प्रहरी बल दार्चुलाको टोलीले किम्तडी भिरमा शनिबार पैदलमार्ग निर्माण गरेको छ । पहिरोमा परी महाकाली नदी किनारमा खसेको एक्साभेटर पनि निकाल्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । यसअघि पुस १५ गते पनि क्षेत्रमा सडक निर्माणकै क्रममा पहिरो खस्दा एक हप्तासम्म सडक अवरुद्ध थियो ।