• १४ माघ २०८१, सोमबार

हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, माघ १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताउनु भएको छ । 

पञ्चायतकालदेखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकुल बनाउने कार्यमा आफू गम्भीरताका साथ लागेको सुनाउनु भयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार हुलाक विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राख्नुभयो ।

उहाँले नेपालमा विभिन्न समयमा भएका शान्तिपूर्ण क्रान्तिले राजनीतिक विकास भएको बताउदैँ संरचनागत क्रान्तीमा सुधार ल्याउनतिर हालसम्म कसैको ध्यान नगएको गुनासो गर्नुभयो । उहाँका अनुसार हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण सेवा भएको र यसलाई आधुनिकरण गर्न प्रविधि मैत्री बनाउन जरुरी रहेको सुनाउनु भयो । “अब हुलाकको नीति परिवर्तन हुन्छ,” मन्त्री गुरुङले भन्नुभयो,“साथै हुलाकलाई प्रविधि मैत्री बनाउने विषयमा हाम्रो मन्त्रालय सधैँ संवेदनशील छ ।” 


कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिँदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन आग्रह समेत गर्नुभयो । “हुलाक सेवाको प्रभावकारिता सुरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावित बनाउनुहोस्”, मन्त्री गुरुङले भन्नुभयो,“मन्त्रालयबाट नेतृत्व लिएर तपाईंहरूको काममा साथ दिन हरदम तयार छु ।”

कार्यक्रममा मन्त्री गुरुङ, निमित्त सचिव (सहसचिव) गजेन्द्रकुमार ठाकुरका अनुसार हुलाक सेवाले सीमित स्राेत र साधन प्रयोग गरेर अधिकतम उद्देश्य पूरा गर्न गर्दै आएको बताउनु भयो । साथै मन्त्री गुरुङको स्प्रीड अनुकुल  हुलाक सेवालाई आधुनिकीकरण गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताउनुभयो । 

हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था सुनाउँदै स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती र कार्य योजना मन्त्रीसमक्ष जानकारी दिनुभयो ।