• १४ माघ २०८१, सोमबार

सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने

blog

राक्सिराङ गाउँपालिकाको कार्यालय तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ १३ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो ।

मञ्जुश्री संवत् २८६१ डुल लो-सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आइतबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । 

माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा पालिका अध्यक्ष मल्लले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्नुभएको छ । साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उहाँले जनाउनुभएको छ । उहाँले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशियालीपूवर्क मनाउने तीन दिन बिदा दिएको बताउनुभयो ।

उहाँले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने  अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ् बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने आफ्ना शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।