• १९ चैत २०८१, मङ्गलबार

रङ्गमञ्चमा तन्नेरीका सपना

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ १३ गते । नाटक यथार्थ र यथार्थोन्मुख कल्पनाको सजीव चित्रण हो । अङ्ग्रेजीका महान् नाटककार विलियम सेक्सपियरले रङ्गमञ्चलाई संसार, पात्रलाई मानिस, जीवनका अनेक भूमिकालाई समय समयमा मानिसले निर्वाह गर्नुपर्ने दायित्वसँग जोड्नुभएको छ । सेक्सपियरको यो धारणासँग सबै जसो विद्वान् र रङ्गकर्मी सहमत देखिन्छन् ।

पर्यटन राजधानी पोखरामा शुक्रबारबाट मञ्चन थालिएको ‘सपना डिलक्स कोच’ ले पनि नेपाली समाजका तन्नेरीको सोच, दृष्टिकोण र दिग्भ्रमित अवस्था प्रदर्शन गर्ने जमर्को गरेको छ । करिब डेढ घन्टाको यो नाटकका मूल पात्र दिलप्रसाद गुरुङले भीम दाइ अर्थात् चालकको भूमिका निर्वाह गर्नुभएको छ । बर्सौं नगर बस चलाएर अनुभवी भीमले पोखरादेखि काठमाडौँको बस चलाउँदा भेटेका यात्रु र उनको समाज नै नाटकको मुख्य विषयवस्तु हो ।

सपना डिलक्स कोचको चालक बन्नुअघि भीमकी श्रीमती उमा पुन अर्थात् फूलमायालाई ठुलो चिन्ता पर्छ । गाडीचालकले भोग्नुपर्ने सडकका सास्ती नाटकले देखाएको छ । कुनै गल्ती नै नगरे पनि जरिबाना वा नजराना असुल्ने ट्राफिक प्रहरीदेखि मदिराको मातमा सिटमै पिसाब गर्नेसम्मका यात्रु झेल्नु परेको देखाइएको छ । गाउँमा बाँदरले दुःख दिएर खेतीपाती गर्न छाडेकोदेखि बाँदर झपाउन सुझाइने उपाय पनि नाटकमा समावेश गरिएको छ ।

ससाना कुरामा खुकुरी लिएर दाजुभाइलाई काट्न तयार हुनेहरू पनि नाटकमा देखिएका छन् । बाँदरको आतङ्क हटाउन ठुला रुखहरू छिमल्न र राम्रो रेखदेख गर्न सुझाइएको छ । गाउँमा आर्थिक उपार्जन नहुँदा विदेश जान हिँडेको सुशील र उसको भान्जाले अहिलेका युवाको प्रतिनिधित्व गरेका छन् । 

सपना डिलक्स कोचमा चढेर काठमाडौँ हुँदै विदेश हिँडेको युवा सुशीलको भूमिकामा कपिल शर्माले सशक्त अभिनय गरेका छन् । उनी सधैँ दाइँ गर्ने दयरा बन्नु परेको र धान भने अरूले नै उठाएर लैजाने गरेको भनी श्रमजीवीको अवस्था नसुध्र्रिएकोमा चिन्तित छन् । मामालाई विदेश जान राजधानीसम्म छाड्न हिँडेका भान्जामा पनि विदेशकै मोह पलाउँछ । 

पहिलो पटक भीमले काठमाडौँ लैजाँदै गरेको गाडीका यात्रु भान्जामा पनि विदेश गएर कमाउने सपना उम्रिएको छ । बाटोमा भेटिएको अर्को कोहलपुर जाने यात्रुलाई काठमाडौँ जाने बसले चढाएर मुग्लिङमा उतारिदिएको छ । यसरी नै स्वार्थका लागि मान्छेले मान्छेलाई उपयोग गर्छन् भन्ने नाटकले देखाएको छ । 

केदारनाथ पौडेलले लेख्नुभएको नाटकले यात्रु र चालक, सहचालकको दृष्टिबाट देखिएको समाज र परिवेश रङ्गमञ्चमा उतारेको छ । नाटकमा उमा पुन, कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, विजयराज अधिकारीको भूमिका सशक्त देखिएको छ । झिनो विषयवस्तुलाई गम्भीर रूपमा चित्रण गर्न खोजेको यो नाटकलाई थप न्याय गर्न निर्देशक लक्ष्मण डुम्रेले थप मेहनत गर्न सक्ने ठाउँ देखिन्छन् ।