• १४ माघ २०८१, सोमबार

रेसुङ्गामा बढे पर्यटक

blog

तम्घास समाचारदाता

तम्घास, माघ १३ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा अवलोकनमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भएको छ । यस आर्थिक वर्षको सुरुदेखि हालसम्म ५० हजार जनाभन्दा बढीले रेसुङ्गा क्षेत्रको भ्रमण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो । नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्रको अभिलेख अनुसार राजनीतिक दल, राष्ट्रियस्तरका कलाकार, पत्रकार, व्यवसायी, धर्म तथा पर्यटनमा रुचि राख्ने धार्मिक तीर्थालु, आन्तरिक तथा बाह्य पर्यटक गरी कुल ५० हजार बढीले यस क्षेत्रको अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । 

नगरले सञ्चालन गरेको ‘जाँउ हिँड रेसुङ्गा’ अभियान प्रभावकारी भएको बताउँदै यस अभियानलाई निरन्तरता दिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । अभियानले गर्जुरा पार्क, अर्जुन क्षेत्र, उनायचौरको ट्री हाउस, धुर्कोटको विचित्र गुफा, भुवाने पार्क, तम्घास थान मन्दिरमा चहल पहल बढेको उहाँको दाबी छ । 

एक करोड राजस्व 

नगरपालिकाले छ महिनामा एक करोड छ हजार ११४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । यस आवमा एक करोड ८० लाख रुपियाँ आन्तरिक राजस्व उठाउने लक्ष्य लिएकोमा झन्डै ५६ प्रतिशत राजस्व सङ्कलन भइसकेको नगरपालिकाको आन्तरिक राजस्व शाखाले जनाएको छ ।