नवीनराज कुइँकेल
लमजुङ, माघ १२ गते । तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभरी छरिएर रहेका तामाङ समुदाय मिलेर शनिबार बेसीसहरमा साँस्कृतिक उत्सव मनाएका हुन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमरास तामाङले तामाङ समूदायको वर्गचक्र अनुसार डुल ल्हो (नाग वर्ग) को अवसरमा साँस्कृतिक उत्सव कार्यक्रम गरिएको बताउनुभयो ।
“भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान” भन्ने मूल नारासाथ आयोजित साँस्कृतिक उत्सव कार्यक्रममा तामाङ जातिको परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको भेषभुषा, बाजागाजा, बोम्वो, ताम्वा, लामा, गन्वा नाँच प्रदर्शन गरिएको थियो ।
उत्सवमा तामाङ समूदायमा प्रचलित परम्परागत खाना, साहित्यिक कार्यक्रम, झाँकी प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति थियो । सामान्यतया मान्यजनबाट आशीर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा परिकार खाने खुवाउने र नाचगान गरी ल्होसार मनाउने गरिन्छ । विभिन्न ठाउँमा छरिएर रहेका तामाङ समूदायलाई एक ठाउँमा जम्मा गरी एकता र भातृत्वका लागि साँस्कृतिक उत्सव आयोजना गरिएको आयोजक समितिका सचिव आशिष तामाङले बताउनुभयो ।
“तामाङ भाषा, सँस्कृृति विस्तारै हराउँदै छ । यसको जगेर्ना गर्न उत्सव गरेका हौं” अध्यक्ष होमरास तामाङले भन्नुभयो, “उत्सवबाट मौलिक सँस्कृतिको प्रवर्धन र प्रचार भएको छ ।” यस्ता कार्यक्रमले तामाङको भाषा, कला र सँस्कार सँस्कृतिको जगेर्ना गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।
उत्सवले तामाङ संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि सहयोग पुगेको आयोजकको दावी छ । ल्होसार उत्सवको गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । उहाँले सबै जातजातिको संस्कृति र पहिचान जोगाउन गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्ब्होँलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङसहित अतिथिको सहभागिता थियो ।