• १४ माघ २०८१, सोमबार

साहित्यकार श्रेष्ठलाई एक लाख रुपियाँको पुरस्कार

blog

कार्यक्रममा सम्मानित हुनुहुँदै साहित्यकार ।

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १२ गते । जिल्लाको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एक लाख रुपियाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ ।

बेनी नगरपालिका–५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा बेनी नगरपालिका–७ का श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । 

त्यस्तै, सोही अवसरमा साहित्यको क्षेत्रमा योगदान गर्ने पूर्व राष्ट्रसेवक कर्मचारी समेत रहनुभएका पौलस्त्य साहित्य समाज म्याग्दीका निवर्तमान अध्यक्ष कृष्णबहादुर बानियाँ र पत्रकारिताको माध्यमबाट जिल्लाको शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा योगदान गरेकोमा पत्रकार महासङ्घ म्याग्दीका सदस्य तथा प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मालाई पनि नगद दस हजार रुपियाँसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । 

त्यस्तै, म्याग्दी बहमुखी क्याम्पसका सह–प्राध्यापक रेखाकौशल रेग्मीलाई कदरपत्रले सम्मान गरिएको थियो । पुलाचौरमा हुने विभिन्न कार्यक्रममा विशेष योगदान गरेको भन्दै स्मृति कोषले शिवालय आमा समूहलाई नगद दस हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

गएको वर्ष सम्पन्न एसइईमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने मुस्कान बानियाँ, साधना विकलाई १५–१५ हजार रुपियाँ र देवशा परियारलाई सात हजार पाँच सय रुपियाँको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यसैगरी एसइईमा जडभरत शालग्राम गण्डकी संस्कृत मावि बेनी नगरपालिका –९ गलेश्वरबाट प्रथम हुने स्वरुप रिजाललाई नगद १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । 

विद्यालयमा आयोजित निबन्धलेखन प्रतियोगितामा प्रथम हुने आयुष रामदाम, द्वितीय हुने दिपिका श्रेष्ठ र तृतीय रसिक श्रेष्ठलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय रुपियाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको स्मृति कोषले जानकारी दिएको छ । सोही अवसरमा जनकल्याण मावि अक्षयकोषबाट कक्षा ११ का ६ जना र कक्षा १२ का तीन जना विद्यार्थीलाई स्टेसनरी तथा पोशाक वितरण गरिएको थियो । 

विद्यालयमा अध्ययनरत स्वर्गीय भक्तविर विकको छोरा कक्षा ९ का अजय रामदाम र कक्षा १० की मैना रामदामलाई अक्षयकोषबाट जनही दुई हजार रुपियाँसहित स्टेसनरी प्रदान गरिएको विद्यालयका शिक्षक शान्ति शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधवप्रसाद रेग्मीको स्वागत र विद्यालयका शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।