• १४ माघ २०८१, सोमबार

वर्तमान सरकारको विकल्पको कल्पना गर्न नसकिने : मन्त्री भण्डारी

blog

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी प्रादेशिक अस्पताल जलेश्वरको निरीक्षण गर्नुहुँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, माघ १२ गते ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकारको विकल्पको कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रादेशिक अस्पताल जलेश्वरले आयोजना गरेको एक कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री भण्डारीले भन्नुभयो, ‘‘यो सरकार स्थिर मात्रै होइन, यो सरकार यति बलियो छ, यसको विकल्पको कल्पना पनि गर्न सकिन्न ।’’

निश्चित जिम्मेवारी लिएर अगाडि बढेको यो सरकारलाई अन्यथा गर्ने वा फेल हुने छुट नभएको बताउनुहुँदै मन्त्री भण्डारीले केन्द्रीय सरकार फेल भयो भने त्यसबाट निमित्ने समस्या अकल्पनीय हुने भएकाले यो सरकार फेल नहुने बताउनुभयो ।

यो सरकार फेल नहुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुहुँदै उहाँले सरकारले आमजनतालाई परिवर्तनलाई आत्मसाथ गरी महसुस गराउने काम गर्ने दावी गर्नुभयो ।

देशमा अहिले सरकारलाई बदनाम गराउन विभिन्न भाष्य स्थापना भइरहेको बताउनुहुँदै देशमा प्राप्त उपलब्धिलाई उल्टयाउने काम भइरहेकोमा उहाँले आक्रोश पोख्नुभयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, संविधानमा आवश्यक परिमार्जन गर्दै, संविधानलाई सर्वस्वीकार्य बनाउन यो सरकार दत्तचीत्त भएर लागिरहेको बताउनुहुँदै मन्त्री भण्डारीले भन्नुभयो, ‘‘नेपाली जनताले हासिल गरेको उपलब्धिभन्दा एक इन्च पछाडि हटिदैन । अगाडी बढने हो, अग्रगामी हुने हो ।’’

कार्यक्रममा प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.विकास कुमार साहले अस्पतालबारे मन्त्री भण्डारीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा सभासद जयनुल राईन, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी लालवावु कवारीलगायतकाहरुले मन्तव्य राख्नुभएको थियो ।