• १४ माघ २०८१, सोमबार

प्रजातन्त्र खोजीमा जसले दिए बलिदानी

blog

जङ्गबहादुर राणाले आफ्नै मामा प्रधानमन्त्री माथवरसिंह थापाको १९०२ साल जेठ २ गते राति हत्या गरेपछि चौतारिया फत्तेजङ्ग शाह प्रधानमन्त्री बन्न पुगे । प्रधानमन्त्री शाहले प्रधानसेनापति गगनसिंह भण्डारी खवासलाई सात रेजिमेन्ट, अभिमानसिंह रानालाई तीन रेजिमेन्ट र जङ्गबहादुरलाई तीन रेजिमेन्ट परिचालनको अधिकार दिए । माथवरसिंहको हत्यापछि शासनसत्तामा पुग्ने जङ्गबहादुरको उद्देश्य थियो तर उनको गणना भारदारको सूचीमा तल थियो । दरबारनिकट गगनसिंह रानी राज्यलक्ष्मीका प्रिय थिए । रानीसँगको सम्बन्धका कारण गगनसिंहलाई राजा राजेन्द्र र युवराज सुरेन्द्र मन पराउँदैनथे । जङ्गबहादुरसँग गगनसिंहको सम्बन्ध राम्रो थिएन । रानीसँगको सम्बन्धले गर्दा प्रधानमन्त्री फत्तेजङ्गलाई गगनसिंह टेर्दैनथे । सोही कारण फत्तेजङ्ग पनि गगनसिंहसँग खुसी थिएनन् । 

विसं १९०३ भदौ ३१ गते राति गगनसिंहको एक्कासि हत्या भयो । गगनसिंहको हत्यारा पत्ता लगाउन रानीले भदौ ३२ गते कोतमा भारदारलाई जम्मा हुन आदेश दिइन् तर त्यसै दिन जङ्गबहादुरले हत्याकाण्ड मच्चाएर अभिमानसिंह राना, फत्तेजङ्ग शाह, दलभन्जन पाँडे, वीरकेशर पाँडेलगायत ३१ जनाको ज्यान लिई सत्ता हत्याए । चौतारिया, पाँडे, थापा, विष्ट, राना, भण्डारीको कत्लेआम भयो ।  जुठो परेका कारण नआएका बस्नेतहरू जोगिए । त्यही रक्त आहालमाथि जङ्गबहादुरले जहानियाँ पारिवारिक शासनको सूत्रपात गरे । १९०३ असोज २ गते राजा राजेन्द्रबाट लालमोहर प्राप्त गरी जङ्गबहादुर शक्तिशाली प्रधानमन्त्री बन्न पुगे । 

भण्डारखाल पर्व

कोतपर्वको ४५ दिनमै जङ्गबहादुरको शासनविरुद्ध विद्रोह भयो । कोतपर्वमा अनुपस्थित रहेका वीरध्वज बस्नेतको सहयोगमा रानी राज्यलक्ष्मीले १९०३ कात्तिक १२ गते भण्डारखालमा भोजको आयोजना गरी सशस्त्र समूह लुकाएर राख्न लगाइन् । त्यस भोजमा जङ्गबहादुरलाई बोलाउने र त्यही सिध्याउने योजना बन्यो तर त्यो कुरा जङ्गबहादुरले पण्डित विजयराजमार्फत पहिले नै चाल पाएपछि उनले त्यहाँ चार पल्टन फौज लगी वीरध्वज बस्नेतलगायत २३ जनाको हत्या गरे । केहीलाई कैदी बनाए । राजा राजेन्द्र र रानी राज्यलक्ष्मी निर्वासित भए । 

अलौ पर्व

राजा राजेन्द्र र रानी राज्यलक्ष्मी निर्वासित भएपछि जङ्गबहादुरले युवराज सुरेन्द्रलाई राजा  घोषित गरे । त्यसैबिच बनारसमा रहेका भारदारले राजेन्द्रलाई नेपाल फर्केर पुनः शासन कब्जा गर्नुपर्ने सल्लाह दिए । आफू जीवित छँदै छोरालाई राजा बनाएको राजेन्द्रलाई मन परेको थिएन । भारदारको सल्लाह अनुसार उनी अघि बढे । सानो फौज खडा गरे । १९०४ भदौमा फौजसँगै राजेन्द्र नेपाल प्रवेश गर्दा जङ्गबहादुरले फौज परिचालन गरे । अलौ भन्ने ठाउँमा राजेन्द्रसँगै आएको फौज र जङ्गबहादुरले पठाएको फौजबिच भिडन्त भयो । राजा राजेन्द्रलाई पक्रेर काठमाडौँ ल्याई बन्दी बनाइयो । 

बाकावीर हत्या

जङ्गबहादुरले सत्ता लिएको तीन वर्षभित्रै १९०५ सालमा उनको सत्ताविरुद्ध पहिलो आवाज सुदूरपश्चिमबाट उठेको थियो । उक्त आन्दोलनको नेतृत्व अछामका बलदेव शाही (बाकावीर) र बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहले गरेका थिए । रक्तपात मच्चाएर सत्तामा पुगेका जङ्गबहादुरले देशभर सुरक्षाप्रबन्ध मजबुत पारेका थिए । डोटीमा रिपुमर्दन पल्टन खटाएका थिए । पल्टनका लागि आवश्यक खाद्यान्न अछामी जनताले बेहोर्नु पथ्र्यो । त्यसका लागि अछामी जनताका नाममा इस्तिहार नै जारी गरिएको थियो । जनताले समयमा चामल नपठाउँदा उनीहरूमाथि धरपकड हुन्थ्यो । 

अछामी राजा रणभीम शाहीका भाइ बलदेव शाही (बाकावीर), बझाङका अम्बरसिंह भण्डारी र गुमानसिंहका भाइ ईश्वरसिंहबाट जङ्गबहादुरको नीतिको विरोध भयो । उनीहरूले जङ्गबहादुरसमक्ष बिन्तीपत्र हाले पनि सुनुवाइ भएन । कुल्याहा भन्दै उनीहरूमाथि दमनको नीति लिँदै जङ्गबहादुरले १९०५ वैशाखमा बलदेव शाही, अम्बरसिंह भण्डारी र गुमानसिंहका भाइ ईश्वरसिंह तीन जना जहाँ फेला पर्छन्, त्यहीँ काट्नू भन्ने आदेश दिए । आदेश अनुसार अछामकै भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरहरूले १९०६ कात्तिकमा अछामको काफलखेतको धारामा नुहाइरहेका बाकावीरमाथि तरबार प्रहार गरी हत्या गरे । त्यसबापत भवानी स्वाँर र कालुसिंह स्वाँरले कप्तानी पद पाए । उनीहरूका दाजु स्वरूपसिंह स्वाँर लप्टन भए ।

लखन विद्रोह  

बाकावीर हत्याको २७ वर्षपछि १९३२ सालमा गोरखाका लखन थापाले आफूलाई ‘जङ्गबहादुरलाई मारी स्वयंले शासन गर्नू भनी मनकामनादेवीको आदेश छ’ भन्दै विद्रोह गरे । जङ्गबहादुरको दमनका क्रममा १९३३ सालमा लखन थापा मारिए । लखन थापाका सहयोगी अजसिंह र अछामी मगर पनि मारिए । लखन थापासँगै १९३२ तिरै लमजुङका सुकदेव गुरुङ पनि जङ्गबहादुरविरुद्ध उभिए । १९३२ चैतमा पक्राउ परेका गुरुङको जेलमा मृत्यु भयो । जङ्गबहादुरविरुद्ध आवाज उठाउने मोटुसिंह बस्नेत पनि थिए । जङ्गबहादुरले उनलाई पक्राउ गरी चितवनमा बन्दी बनाए । जेलमै बस्नेतको मृत्यु भयो । राणाशासनविरुद्ध भएको पहिलो विद्रोहमा अछामका बलदेव शाहीले ज्यान गुमाएका थिए । 

३८ सालको काण्ड

बलेट महाराज त्रैलोक्यवीरविक्रम शाहको निधनताका वृद्ध राजा राजेन्द्र भक्तपुरमा बन्दी थिए । १९३७ सालमा राजा सुरेन्द्रको निधन भएपछि उत्तराधिकारीका रूपमा त्रैलोक्यका पाँचबर्से छोरा पृथ्वीवीरविक्रम गद्दीमा बसे । त्यसलाई ध्यानमा राखी विक्रमसिंह थापा, अमरविक्रमसिंह थापा, इन्द्रसिंह टण्डन, धीरमानसिंह बस्नेत, कुलमानसिंह बस्नेत, उत्तरध्वज राजभण्डारी खवास, चन्द्रसिंह पाँडे, सङ्ग्रामसुर विष्ट, सुब्बा होमनाथ उपाध्यायसहित ५२ जनाले शाहजादा नरेन्द्रवीरविक्रमको अगुवाइमा धीरशमशेरसहित राणाहरूको अन्त्य गर्ने योजना बनाए । त्यस कार्यको उपनायक विक्रमसिंह थापा रहे । त्यही बेला १९३६ सालमा रणोदीप सिंह भारत जाँदा योजना विफल भयो । १९३७ पुसमा रणोदीप सिंह सिकार खेल्न तराई झरे । त्यसै वर्षको माघेसङ्क्रान्तिको अघिल्लो रात ५२ जनाको दलले थापाथलीमा धीरशमशेरको हत्या गरी पृथ्वीवीरविक्रमको अभिभावकत्वमा नरेन्द्रवीरविक्रमले नेपालको शासन सुधार गर्ने घोषणा गरे । नेपालमा व्यक्तिविशेषको सत्ता प्रथा हटाई, योग्य मन्त्री, सेनापति र प्रजाजनका सहयोगले शासन गर्ने योजना बनाए तर त्यो योजना पनि कार्यान्वयनमा आएन । खवास र थापाहरूको पुरानो शत्रुताका कारण त्यस दलमा आबद्ध विक्रमसिंह थापाको अगुवाइ उत्तरध्वज भण्डारी खवासलाई मन परेन । उनले सम्पूर्ण योजना धीरशमशेरलाई सुनाए । त्यो कुरा चाल पाएपछि धीरशमशेरले कुँवर खलकको बैठक डाके । बैठकले ५२ युवामाथि दमनको नीति लियो । धीरशमशेरले त्यस कामको जिम्मा भतिजा बमविक्रमलाई दिए । बमविक्रमले त्यही राति ५२ जनाको घर घेरा हाली बन्दी बनाए । नरेन्द्रवीरविक्रम शाहलाई सुरुमा नजरबन्द र पछि देशनिकाला गरियो । विक्रमसिंह थापा, सङ्ग्रामसुर विष्टलगायत ४१ जनालाई गाथगादी ताकेको अभियोगमा काटियो । खुँडा प्रहार गरी विक्रमसिंह थापा, अमरविक्रम थापा, संसारविक्रम थापा, सङ्ग्रामसुर विष्ट, इन्द्रसिंह टण्डन खत्री, चन्द्रसिंह पाँडेहरूको गर्धन छिनाइयो । सुब्बा होमनाथ उपाध्यायसहित १० जना ब्राह्मण युवालाई मुडेर जातिच्युत गरियो । सुब्बा होमनाथलाई देश निकाला गरियो । 

४२ सालको काण्ड

विसं १९४२ मा प्रधानमन्त्री रणोदीप सिंहको हत्या उनका भाइ धीरशमशेरका छोराहरू (वीरशमशेर, खड्गशमशेर, चन्द्रशमशेर र भीमशमशेर) ले गरे । १९४२ सालमा धीरशमशेर पुत्र वीरशमशेरले रणोदीप सिंहको हत्या र जङ्गबहादुरका छ भाइ खलक सन्तानको कत्लेआम गरी प्रधानमन्त्री पद हत्याए । त्यसबेला रणवीरजङ्ग, जितजङ्ग, पद्मजङ्ग, ध्वजनरसिंह तथा अमरजङ्ग लैनचौरस्थित बेलायती दूतावास छिरे । त्यसपछि उनीहरूलाई बेलायती दूतावासले आफ्नो संरक्षणमा नेपालको सीमा पार गरायो । 

हनुमाननगर काण्ड

सुब्बा होमनाथ ३८ सालको काण्डमा भागेर बनारस पुगेका थिए । ४२ सालको काण्डपछि बनारस पुगेका रणवीरजङ्ग, जितजङ्ग, पद्मजङ्ग र ध्वजनरसिंह तथा अमरजङ्गको भेट तिनै होमनाथसँग भयो । सुब्बा होमनाथसहित निर्वासित भादारहरू सबैले प्रधानमन्त्री वीरशमशेरको शासनविरुद्ध पुनः सशस्त्र आक्रमणको योजना बनाए । सुब्बा होमनाथले बङ्गालीहरूको सहयोगमा फ्रेन्च इन्डिया चन्द्रनगरबाट हतियार जम्मा पारे । १९४४ सालमा हतियारसहित सुब्बा होमनाथ जलेश्वर प्रवेश गरे । भैरवबहादुर हनुमाननगर र शेरनरसिंहले बरेवातिर लागे । रणवीरजङ्गले मोतिहारीमा हतियारको व्यवस्था गरे । सुब्बा होमनाथको टोलीले जलेश्वर हनुमाननगर तथा बरेवाको कचहरी नियन्त्रणमा लियो । भिडन्तमा सुब्बा होमनाथको गोली लागी सुब्बा गोरख कुँवर मारिए । हनुमाननगर माल लुटियो । त्यस घटनालाई प्रधानमन्त्री वीरशमशेरले तीन पल्टन सेना परिचालन गरी दमन गरे । 

थीरबमसहितको मुक्ति सेनाले २००७ कात्तिक २६ गते वीरगन्ज कब्जा गर्‍यो । वीरगन्ज कब्जापछि सरकारी सेनाले चलाएको गोली लागेर उनको मृत्यु भयो । 

मकै पर्व 

प्रधानमन्त्री चन्द्रशमशेरको पालामा रामेछापका सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ पुस्तक लेखे । पुस्तकमा ‘मकै खाने रातो टाउको र कालो टाउको भएको किरा’ भन्ने उल्लेख थियो । कृष्णलालको उक्त भनाइ आफूहरूविरुद्ध लक्षित रहेको अर्थ निकाल्दै चन्द्रशमशेरले १९७७ साउन ११ मा पक्राउ गरी जेल हाले । पुस्तक लेखेबापत छ वर्ष र एउटा पुस्तक हराएको निहुँमा तीन वर्ष गरी नौ वर्ष जेल सजाय तोकियो । १९८० सालमा जेलमै अधिकारीको निधन भयो । अधिकारी नेपालको पहिलो साहित्यक सहिद हुन् । 

वसन्तशमशेर पर्व

रामशमशेर तथा हिरण्यशमशेरले प्रधानमन्त्री भीमशमशेरविरुद्ध गरेको षड्यन्त्र ‘वसन्तशमशेर पर्व’ ले परिचित छ । सो षड्यन्त्रमा भीमशमशेरका नाति, पद्मशमशेरका छोरा वसन्तशमशेर र हिरण्यशमशेरका भाइ यज्ञशमशेर उर्फ डल्ले बाबुसाहेबसमेत सामेल थिए । त्यस काण्डमा वसन्तशमशेर, यज्ञशमशेरहरू नजरबन्द गरिए । सोही काण्डमा तिलकमणि आचार्य दीक्षित, सुबेदार बहादुर बस्नेत, शेरबहादुर शाहलाई नेल गलफन्दी हतकडी लगाई १२ वर्ष जेल सजाय तोकियो (उपाध्याय, रामजी, नेपालको इतिहास दिग्दर्शन) । वसन्तशमशेरलाई बत्तिसपुतलीमा नजरबन्द गरियो । वसन्तशमशेर पर्वमा तिलकमणि आदी पनि जेल परे । उनी अत्याचारी राणाहरूसँग ‘नबोल्ने व्रत’ बसेका थिए । उनलाई सबैले ‘नबोल्ने बाजे’ भन्थे । भीमशमशेरले सबैलाई २५/२५ बेतको कोर्रा लगाउनुभन्दा पनि तिलकमणिले कोर्रा थापे तर बोलेनन् । जेलभित्रै मानसिक सन्तुलन गुमाएपछि जेलमुक्त भएलगत्तै उनले प्राण त्यागे । 

कलकत्तामा पढेका वसन्तमणि आदी २० वर्षको उमेरमा स्वदेश फर्केर बालबालिका र युवकयुवतीलाई पत्रपत्रिका पढाउँथे । डिल्लीबजार गणेश पानपसलेको पेटीमा पढाउन थालेपछि उनलाई हिरण्यशमशेरले हप्काएका थिए । उनलाई ‘वसन्तशमशेर पर्व’ मा मुछेर जेल हालियो । ‘बेकसुर जेल हाल्नु उचित नभएकाले कसुर ठहर्‍याइयोस्’ भन्दै उनी ३० दिन अनशन बसे । त्यसको एक वर्षपछि उनी रिहा भए तर जेल यातनाका कारण मृत्युवरण गरे । 

वसन्तशमशेर पर्वमा ज्यान गुमाउने अर्का युवा थिए, नरबहादुर कार्की । वसन्तशमशेरका कवाजे शिक्षक थिए कार्की । वसन्तशमशेर पर्वमा जेल परेका कार्कीको बिरामी अवस्थामा जेलमुक्त भएपछि निधन भयो ।

प्रचण्ड गोर्खा

राणाकालीन दमनलाई बेवास्ता गर्दै राणाशाहीविरुद्ध जनता सङ्गठित हुँदै आए । प्रधानमन्त्री भीमशमशेरका पालामा राणाशासनविरुद्ध प्रचण्ड गोर्खा देखा पर्‍यो । भूमिगत रूपमा गठित प्रचण्ड गोर्खाबारे राणाहरूले तत्काल जानकारी पाएनन् । प्रचण्ड गोर्खाको नेतृत्वमा कप्तान खण्डमानसिंह बस्नेत थिए । अन्य सदस्यमा मैनाबहादुर खत्री, खड्गमानसिंह बस्नेत, रङ्गनाथ शर्मा, उमेशविक्रम शाह र चन्द्रविक्रम शाह थिए । आर्थिक सहयोगका लागि उमेशविक्रम शाहलाई जोडिएको थियो । लक्ष्मणराजा भनिने जुद्धशमशेरका ज्वाइँ पनि प्रचण्ड गोर्खामा थिए । यसरी गठित प्रचण्ड गोर्खाको उद्देश्य राणाहरू भेला भएका ठाउँमा बमद्वारा एकै चिहान बनाउने र त्रिभुवनको नेतृत्वमा वैधानिक शासन कायम गर्ने थियो तर उक्त योजनामा लक्ष्मण राजाले असहमति जनाए । उनले जुद्धशमशेरलाई सबै योजना सुनाए । त्यसपछि भीमशमशेरले खण्डमानसिंह बस्नेत, मैनाबहादुर खत्री, खड्गमानसिंह बस्नेत, रङ्गनाथ शर्मा र उमेशविक्रम शाहलाई पक्राउ गरे । भीमशमशेरले मृत्युदण्ड खारेज गरेकाले सबैले आजीवन कारावासको सजाय पाए । उमेशविक्रम शाह पाल्पा जेल चलान गरिए । खण्डमानसिंह बस्नेत, मैनाबहादुर खत्री, खड्गमानसिंह बस्नेत र रङ्गनाथ शर्मालाई कठोर यातनासहित गोलघरमा राखियो । १२ वर्षको कठोर यातनासहित जेल बस्दा किशोरविक्रम शाह बिरामी परे । जुद्धशमशेरले रिहा गरेपछि घर पुगेको केही दिनमै किशोरविक्रमले मृत्युवरण गरे (सहिद, पृ. ३४) । 

डिल्लीबजार, काठमाडौँमा जन्मेका फौदसिंह खत्रीका छोरा मैनाबहादुरको खास नाम युद्धबहादुर थियो । उनीसँगै जेल परेका तीन जना दुई वर्ष चार महिनाको अन्तरालमा जेलमुक्त भए । धन खर्चेको, चाकडीमा खटिएको र माथिबाट बिन्ती पुगेकाले रङ्गनाथ शर्मा १९९० मङ्सिरमा छुटे र देश निकाला भए । खण्डमान, मैनाबहादुर र खड्गमानलाई नेल गलफन्दी र गोडामा गोला ठोकेर जेलमै राखियो । ५३ वर्षका खण्डमानसिंह रगत सुकेर सेतै भए । मैनाबहादुरलाई क्षयरोगले छोयो । अन्ततः खण्डमानले १९९२ चैत २३ गते जेलमै प्राण त्यागे (सिंह, खड्गमान– सहिद मैना दाइ, पृ. १७) । मैनाबहादुरका सवालमा खड्गमानले लेखेका छन्– त्यसताका राजबन्दीलाई डाक्टरी सेवा दिइन्नथ्यो । आमाले छोरालाई बाहिर लगी उपचार गर्न पाऊँ भनी बिन्ती चढाउँदा पनि छोडेन । तीन वर्षसम्म रोगग्रस्त भएर रगत छाद्दै मातृभूमिको बलिवेदीमा प्राण अर्पण गरेर मैना दाइ १९९५ भदौ ५ गते सहिद भए (सिहं, पूर्ववत्, पृ. १९) । प्रचण्ड गोर्खाकाण्डमा जीवित खड्गमानसिंह बस्नेत २००७ सालपछि रिहा भए । 

प्रजापरिषद् गठन 

प्रचण्ड गोर्खामाथिको दमनले राणाविरोधी जनआक्रोश झनै सतहमा आयो । टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्माको अगुवाइमा १९९३ जेठ २० गते झोँछे, ओमबहालस्थित धर्मभक्त माथेमाकी फुपूको घरमा ‘नेपाल प्रजापरिषद्’ गठन भयो । पछि गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह, बलबहादुर पाँडे, हरिकृष्ण श्रेष्ठ प्रजापरिषद्को सदस्य बने । प्रजापरिषद्का सदस्यले भूमिगत रूपमा आफ्ना गतिविधि सञ्चालनमा ल्याए । गतिविधि गोप्य भएकाले सबैको उपनाम राखियो । दशरथ चन्दको नाम ‘सेवा सिंह’ र ‘सुशील’ राखियो । टङ्कप्रसादको ‘प्रकाश’ र धर्मभक्तको ‘अजवबहादुर’ उपनाम थियो । रामहरि शर्माको ‘हरेराम’ र जीवराज शर्माको ‘वसन्त’ थियो । राजा त्रिभुवनलाई ‘मुखिया’ र राणा प्रधानमन्त्रीलाई ‘जमदार’ कोड नाम दिइयो । 

विसं १९९७ मा प्रजापरिषद्ले काठमाडौँमा राणाविरोधी पर्चा छर्‍यो । राणाहरूले त्यस कार्यविरुद्ध कठोर कदम चाले । १९९७ कात्तिक २ गते धर्मभक्त, गङ्गालाल, दशरथ चन्द, गणेशमान सिंह, जीवराज शर्मा, रामहरि शर्मा, बलबहादुर पाण्डे, चन्द्रमान सैँजूसहित सयौँ व्यक्ति पक्राउ परे । पद्मशमशेर, मोहनशमशेर, बबरशमशेर, बहादुरशमशेर, आनन्दशमशेर, हेमराज पाण्डेबाट उनीहरूको आरोपउपर सुनुवाइ भयो । प्रजापरिषद्का सदस्य नरहेका शुक्रराज शास्त्रीलाई समेत त्यस प्रकरणमा मुछियो । शुक्रराज, धर्मभक्त, दशरथ, गङ्गालाल र पूर्णनारायण प्रधानलाई ज्यान सजाय सुनाइयो । पूर्णनारायणको सजाय पछि संशोधन गरी १८ वर्ष कैदमा परिणत भयो । ब्राह्मण भएका कारण प्रजापरिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, जीवराज शर्मा, पुष्करनाथ उप्रेतीलगायतले ज्यान सजाय पाएनन् । उनीहरूलाई चारपाटा मुडी, दामलसहित जात पतन गरियो । 

राणाकालीन सहिद

प्रजापरिषद्मा आबद्ध युवा थिए, बलबहादुर पाण्डे । १९९७ सालमा राणाशासनविरुद्ध छरिएको पहिलो पर्चा पाण्डेकै घरमा रहेको मेसिनमा छापिएको थियो । सोही अभियोगमा जुद्धशमशेरले बलबहादुर पाण्डेलाई पर्चा छाप्ने मेसिनसहित कैद गरे । जेलमा उनलाई चरम यातना दिइयो । शरीरभरि घाउ भई किरा परे । छोराको शरीरमा किरा परेको सुन्दा उनकी आमाले रिहाइका लागि गरेको बिन्तीको सुनुवाइ भएन । १९९९ साल चैत २२ गते जेलभित्रै पाण्डेको निधन भयो । 

बाहुन युवा गोपी शर्माको च्यामिनी युवतीसँग प्रेमविवाह भएको थियो । सोही अपराधमा राणाद्वारा उनको जात च्युत गरी छ वर्ष जेल तोकियो । जात पतन गरी उनलाई च्यामे बनाइयो । जेलमा शौचालय सफा गर्थे गोपी । प्रजापरिषद्का बन्दीहरूलाई भगाउन गोपीले जेलभित्र सुरुङ खनेको अभियोगमा चरम यातना दिइयो । सोही यातनाका कारण १९९९ सालमा उनको मृत्यु भयो ।  राणाहरूको स्वीकृतिबिना १९९३ सालमा ‘महावीर इन्स्टिच्युट’ पब्लिक स्कुल खोलेको अभियोगमा चिनियाँलाल सिंह पक्राउ परे । त्यसपछि उनलाई आजीवन कारावासको सजाय तोकियो । जेलमा उनले कठोर यातना भोगे । जेलमै उनलाई टाइफाइड भयो । उपचारका लागि कुनै कदम चालिएन । अन्ततः टाइफाइडले छोएको १८ औँ दिनमा २००१ असार २६ गते जेलबाट जमानीमा घर पुर्‍याइएको चार घण्टामै उनको मृत्यु भयो ।   सिन्धुली दुम्जाका कृष्णप्रसाद कोइराला राणाकालमा भन्सार ठेक्का चलाइरहेका थिए । त्यही बेला चन्द्रगन्जबाट १९७६ सालमा एक जना भरियाको फाटेको लुगा किनेर पार्सल गरी प्रधानमन्त्री चन्द्रशमशेरलाई पठाए । आफ्नो अपमान गरेको ठानेर चन्द्रशमशेरले कृष्णप्रसादलाई पक्रन उर्दी जारी गरे । बडाहाकिम कर्नेल जितबहादुरले सो कुराको सुइँको कृष्णप्रसादलाई दिएपछि उनी भारततिर भासिए । त्यसपछि कोइराला सपरिवार प्रवासमा रहे । भीमशमशेर प्रधानमन्त्री बनेपछि कोइराला १९८६ सालमा स्वदेश फर्के । कोइराला पुनः १९९९ मा राजकाज मुद्दामा पक्राउ परे । उनलाई काठमाडौँ जेल चलान गरियो । बन्दी अवस्थामै २००१ साल माघमा कोइरालाको निधन भयो (सहिद, पृ. ३६) । 

चक्रपाणि चालिसेका छोरा लक्ष्मीनन्दन १९९७ मा त्रिचन्द्र कलेजमा विद्यार्थी थिए । उनी राणाहरूलाई नपुंशक लेखेको अभियोगमा जेल परे । एक थरी भनाइमा बिएको परीक्षाको उत्तरपुस्तिकामा ‘नपुंशक राणा’ लेख्दा उनी जेल परेका थिए । अर्को भनाइ अनुसार लक्ष्मीनन्दनले कलेजमा निबन्ध प्रतियोगितामा गोलाप्रथा हुँदा उनको भागमा ‘हाम्रो कर्तव्य’ शीर्षक परेको थियो । सोही शीर्षकमा उनले नेपाल पछि पर्नुको कारण ‘नपुंशक राणाहरू’ रहेकाले तिनलाई पतन गराउनु नै ‘हाम्रो कर्तव्य’ भन्ने लेखेकाले बालकृष्ण समले सो कुरा पद्मशमशेरलाई जाहेर गर्दा उनले सो कुरा स्विकारेपछि जेल परेका थिए । त्यसपछि उनलाई राजकाज मुद्दामा सर्वस्वहरणसहित जेल हालियो । जेलमा उनलाई क्षयरोग लाग्यो । पिता चक्रपाणिको बिन्तीले उपचारका लागि छुटेका उनको २००२ साउनमा मृत्यु भयो ।  काठमाडौँका न्हुछेरत्न सानैदेखि राणाशासनविरोधी थिए । धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको बलिदानीबाट उनी प्रभावित थिए । सोही कारण २००७ सालको राणाविरोधी आन्दोलनमा होमिए । २००७ सालताका काठमाडौँको भोटाहिटीमा सुरक्षाकर्मीले उनलाई दिएको कठोर यातनाका कारण उनको मृत्यु भयो ।  राणाशासनविरोधी भोगेन्द्रमान सिंह २००७ सालको सङ्घर्षमा पक्राउ परेका थिए । पछि सिंहले बन्दी अवस्थामै जेलमा रहेका साथीहरू लिएर विद्रोह गर्दा उनीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरे । त्यसको चार दिनपछि उनको जेलभित्रै निधन भयो । 

भोगेन्द्रमान सिंह र न्हुछेरत्नसँगै राणाविरोधी सङ्घर्षमा होमिएका दानमान शाक्य आन्दोलनका क्रममा जेल तोडेर भाग्ने कार्यको नेतृत्व गर्दा राणाहरूले उनको हत्या गरेका थिए । 

गल्कोटे राजखलकका थीरबम मल्ल त्रिचन्द्र कलेजमा आइएस्सी गरी देहरादुनबाट सैन्य तालिमप्राप्त व्यक्ति थिए । उनी भारतमै छँदा नेपाली कांग्रेसले २००७ सालको सशस्त्र क्रान्ति आह्वान गरेपछि क्रान्तिमा होमिए । थीरबमसहितको मुक्ति सेनाले २००७ कात्तिक २६ गते वीरगन्ज कब्जा गर्‍यो । वीरगन्ज कब्जापछि सरकारी सेनाले चलाएको गोली लागेर उनको मृत्यु भयो । २००७ सालको क्रान्तिमा सहिद हुने मल्ल पहिलो व्यक्ति हुन् । त्यसै गरी २००७ सालको क्रान्तिमा सहादत प्राप्त गर्नेमा तेह्रथुमका रामजित लिम्बू, दलबहादुर लिम्बू, धनराज आङ्बुहाङ, धनकुटाका बखतमाया राई, मोरङका दलबहादुर थापा, तोलाराम, डा. कुलदीप झा, ओखलढुङ्गाका प्रेमबहादुर कार्की, धनुषाका पद्मबहादुर प्युठाने, रौतहटका शिवप्रसाद, बाँकेका लालबहादुर घले, तनहुँका धर्मराज श्रेष्ठ, सक्तबहादुर राना, धर्मध्वज गुरुङ र उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, खड्गबहादुर गोदार, मणि दमाई र डोटीका कृष्णप्रसाद सिंह श्रेष्ठ थिए ।